काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको विषयमा आफ्नो आधिकारिक धारणा तय गर्न नेपाल बार एसोसिएसनले बैठक बोलाएको छ।

बारका अध्यक्ष डा. विजय मिश्रले शुक्रबार बैठक बसेर एसोसिएसनको औपचारिक धारणा सार्वजनिक गरिने जानकारी दिए।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। ६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानन्यायाधीश सिफारिसको निर्णयमा दुई सदस्यले भने फरक मत राखेका छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विधि र परम्परा मिचिएको भन्दै उक्त निर्णयमा असहमति जनाएका हुन्।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम न्यायाधीशलाई छाडेर रोलक्रमको चौथो नम्बरमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको यो पहिलो घटना हो। संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा शर्मा नेपालको ३३ औँ प्रधानन्यायाधीश बन्नेछन्।












