Logo
Logo

एमाले गठन गर्यो २१ सदस्यीय संसदीय बोर्ड


1.7k
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ ।  शनिवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न ‘संसदीय बोर्ड’ गठन गरेको हो । 

The current image has no alternative text. The file name is: umla-2.jpg

एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी ६ जना पदाधिकारी रहनेछन् । बाँकी १५ सदस्यहरूमा प्रतिनिधि सभाका १०, राष्ट्रियसभाका ४ र संयुक्त समितिका २ गरी कुल १६ वटा संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू (संयोजक) रहने गरी संरचना तयार गरिएको छ ।

बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ । महरले सरकारले संसद्लाई उपेक्षा गर्दै ‘कठपुतली’ बनाउन खोजेको आरोप लगाए । 

बैठकमा सुकुम्वासी व्यवस्थापनका नाममा सरकारले ‘डोजर आतङ्क’ सिर्जना गरेको र मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको विषयमा पनि छलफल भएको छ । राज्यले नागरिकको आत्मसम्मानमा चोट पुर्‍याएको र कतिपय अवस्थामा आत्महत्याका लागि दुरुत्साहन गर्ने परिस्थिति निर्माण गरेको भन्दै एमालेले यस विषयलाई आगामी सदनमा सशक्त रूपमा उठाउने निर्णय गरेको छ । 

वैशाख २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ । एमालेले आफ्नो संसदीय दललाई साङ्गठनिक रूपमा सुव्यवस्थित गर्दै जन पक्षीय मुद्दाहरूमा सदनमा आक्रामक रूपमा प्रस्तुत हुने सङ्केत दिएको छ । 

प्रतिक्रिया दिनुहोस्