
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ जना चालकको सवारी लाइसेन्स निलम्बनका लागि सिफारिस गरेको छ ।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ३१ जना चालकको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो ।
प्रहरी प्रवक्ता नवराज अधिकारीले नियम उल्लङ्घनमा पटक–पटक कारबाही पर्दा पनि अटेर गरी १६ पटकसम्म गल्ती दोहो¥याउने चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न विभागलाई पत्राचार गरिएको जानकारी दिए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रावधानअनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ । सोही कानुनी व्यवस्थामा टेकेर ट्राफिक प्रहरीले नियम मिच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कडा कदम चालेको हो ।
पटक–पटक जरिवाना तिराउँदा पनि सवारीचालकहरूमा नियम पालना गर्ने प्रवृत्ति विकास नभएपछि लाइसेन्स नै निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ । लाइसेन्स निलम्बनमा परेका चालकहरूले ६ महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन् ।
यस कारबाहीले काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पूर्ण पालनामा मद्दत पुग्ने ट्राफिक प्रहरीको विश्वास छ ।












