Logo
Logo

सांसदहरुलाई रविले भने- योगदानको मूल्य माग्ने बेला भएको छैन, परिणाममुखी काम गर्नूस्’


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताएका छन् ।

पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही सांसदहरुले पार्टीमा योगदानको नाममा व्यक्तिगत अपेक्षा राखेर आफू कहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य माग्ने समय भइनसकेको स्पष्ट पारे ।

लामिछानेले पार्टीले सहज रूपमा राजनीतिक उचाइ हासिल गरेको भएपनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको बताए । फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भएपनि अघिल्ला पुस्ताका नेताहरूले गरेको संघर्षकै जगमा यो क्रान्ती सम्भव भएको उनको भनाइ छ ।

उनले भने, ‘हामीलाई चुनावमा जाँदा नै बहुमत आउँछ भन्ने थाहा थियो । यति सजिलो संघर्ष दुनियामा कहिल्यै कसैले गरेको छैन । हामी त्यति सजिलो संघर्षबाट आएका हौँ । तर यो संघर्ष यति सजिलो पार्नको लागि जुन संघर्ष यसअघिका राजनीतिज्ञहरुले गरे त्यो जग त हामीसँग छ नि राजनीतिको रुपमा । पार्टी, विचार र सिद्धान्तका रुपमा हामी अलग हौँला, तर मुलुकमा राजनीतिक परिवर्तनको हिसाबले खनिएको त्यो जगमा गरिएको दुःख जस्तो दुःख तपाईंहामीले अहिले पनि गर्नु परेन, भोलि पजि गर्नुपर्ने छैन । अब पाँच वर्ष हामीले काम गर्नुपर्नेछ । मलाई अहिले पनि साथिहरुले कहिले काँही भन्नुहुन्छ– सभापतिज्यू म त शुरुवातदेखि लागेको, पार्टीमा योगदान छ भनेर योगदानको मूल्य माग्न ढोका ढकढक्याउनुहुन्छ । मलाई दुःख लाग्छ । यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन साथिहरु । योगदान त अब दिने हो । अहिले हामी एतिहासिक क्रान्तीबाट आएका छौँ । यो क्रान्तीलाई पनि परिणाम दिन सकेनौँ भने तपाईं हामी नालायक भनेर निस्किन्छौँ ।’

उनले आफ्नो अभिव्यक्ति र क्रियाकलापहरुले आम नागरिकमा चोट पुग्ने कुरामा सचेत हुन सबै सांसदहरुलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्