Logo
Logo

नेपाल वायुसेवामा सुरक्षा उल्लंघन


0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमभित्र अधिकारको दुरुपयोगको घटना सार्वजनिक भएको छ । जसले यसपटक उडान सुरक्षासम्बन्धी गम्भीर नियम—विशेषतः फ्लाइट डिउटी समय लिमिटेशन को उल्लंघन भएको हो । यस प्रकरणको केन्द्रमा फ्लाइट अपरेशन इन्टरनेशनलका उपनिर्देशक क्याप्टेन अरविन राज पहारी रहेका छन् ।

सामान्य सञ्चालन मापदण्डअनुसार काठमाडौँ–ग्वाङझाउ–काठमाडौँ सेक्टर दुईवटा पूर्ण क्रु सेटमार्फत सञ्चालन गरिएको छ । जहाँ प्रत्येक सेक्टरका लागि एक क्याप्टेन र एक को–पाइलट रहने व्यवस्था हुन्छ । तर यसमा क्याप्टेन पहारीले केवल दुई जना को–पाइलटसहित उडान सञ्चालन गरेको देखिएको छ । दुई साताअघि यसप्रकारको उडान भएको थियो । यसलाई नेपाल वायु सेवा निगमले गोप्य राखेको छ । यसले प्रत्यक्ष रूपमा अधिकार दुरुपयोग र सुरक्षा मापदण्ड उल्लंघन गरेको छ ।

कुनै पनि २४ घण्टाभित्र तीन–पाइलट सञ्चालनमा संलग्न पाइलटहरूको अधिकतम फ्लाइट ड्युटी अवधि १४ घण्टा हुनेछ, जसमा बढीमा ११ घण्टा मात्र उडान समय हुन सक्नेछ भन्ने प्राब्धानलाई पूर्णतः उल्लंघन गरेर दुई जना को पाइलटसहितको उडान गरेको स्रोतले जनाएको छ ।

११ घण्टासम्म उडान समय अनुमति दिनु भनेको क्रु परिवर्तन र कमाण्ड जिम्मेवारी सुरक्षित रूपमा सम्हाल्न दुई जना योग्य क्याप्टेनको उपस्थिति आवश्यक हुने मान्यतामा रहेको भएपनि त्यसलाई पूर्णत उल्लंघन गरिएको स्रोतले जनाएको छ ।

अपरेसन म्यानुअल पार्ट अनुसार, राति÷असामान्य समयमा हुने उडानमा फ्लाइट टाइम सीमा घटाइन्छ, जहाँ अधिकतम उडान समय ९ घण्टामा सीमित हुन्छ । तर यस घटनामा उडान (राति/असामान्य समय) मा सञ्चालन गरिएको भए पनि, दुवै सेक्टरमा एउटै क्याप्टेन प्रयोग गरिएको छ । नियामकीय मर्म, र सुरक्षित क्रु संरचनालाई पूर्ण रूपमा बेवास्ता गरिएको स्रोतको दावी छ ।

एक क्याप्टेन र दुई को–पाइलटको संरचना आफैँमा अगुमेन्टेड क्रु सञ्चालनको उद्देश्य र सुरक्षा आधारविपरीत रहेको स्रोतले जनाएको छ । यसबाहेक, रात्रीकालीन उडान, जैविक घडीमा पर्ने प्रभाव, र सञ्चित थकानजस्ता पक्षहरूलाई योजना बनाउँदा पूर्ण रूपमा बेवास्ता गरिएको देखिन्छ ।

सामान्य अवस्थामा १०–१५ मिनेटको सानो समय उल्लंघन कहिलेकाहीँ सञ्चालनगत कारणले स्वीकार्य हुन सक्छ, तर यहाँ भने उडान समय र ड्युटी समय दुवै सीमाहरू पहिल्यै थाहा हुँदाहुँदै योजनाबद्ध रूपमा उल्लंघन गरिएको देखिएको स्रोतले जनाएको छ ।

यो घटना एक्लो होइन, लामो समयदेखि पक्षपातपूर्ण रोस्टरिङ, उडान घण्टाको असमान वितरण, र विशेष व्यक्तिलाई प्राथमिकता दिने अभ्यासबारे गुनासोहरू उठ्दै आएका छन्। धेरै पाइलटहरूले उच्च घण्टा र बढी भत्तासहितका सेक्टरहरू असमान रूपमा बाँडफाँड गरिएको भन्दै आपत्ति जनाएका छन् । क्याप्टेन पहारीले आफ्ना नजिकका व्यक्तिहरूलाई लाभ हुने गरी उडान बाँड्ने र अरूलाई पछाडि पार्ने गरेको व्यापक आरोप छ। यस्ता अभ्यासहरूले स्पष्ट रूपमा अधिकारको दुरुपयोग गर्छन् र संस्थागत पारदर्शिता तथा निष्पक्षतालाई कमजोर बनाउँछन् ।

यसैगरी, अपरेशन निर्देशक क्याप्टेन सुवास रिजालको भूमिका पनि प्रश्नको घेरामा परेको छ । वरिष्ठ जिम्मेवारीमा रहेका व्यक्तिको रूपमा उनले निष्पक्षता, नियमपालना र क्रु कल्याण सुनिश्चित गर्नुपर्ने हो । तर पाइलटहरूबीच बढ्दो असन्तुष्टि र उडान घण्टाको असमानताप्रति उनले कुनै प्रभावकारी हस्तक्षेप नगरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्