Logo
Logo

मुलुक निर्वाचित अधिनायकतिर अगाडि बढ्न खोज्यो : प्रदीप ज्ञवाली


126
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकत्वतिर अगाडि बढ्न खोजेको टिप्पणी गरेका छन् ।

३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आईतवार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको पनि बताए । उनले सरकार बनेको करिव ५० दिन नपुग्दै लोकतान्त्रिक मूल्य र संस्थाहरूमाथि गम्भीर प्रश्न उठाएको पनि बताए ।

उनले ट्रेड युनियन तथा स्ववियु खारेज गर्ने प्रयत्न, अध्यादेशमार्फत शासन चलाउने दुष्प्रयास र सुकुम्बासीहरुमाथिको डोजर आतंकले मुलुक निर्वाचित अधिनायकतिर अघि बढिरहेको टिप्पणी गरे । नेता ज्ञवालीले सरकारले संसद, राष्ट्रपति एवं संवैधानिक आयोगहरुको अवमूल्यन गरिरहेको आरोप पनि लगाए ।

‘देशको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडमा पुग्दै गरेको हामीले देखिरहेका छौँ । नयाँ सरकार बनेको ५० दिन हुन हुन लागेको छ । तर दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बदलीले देखाइसकेको छ । टे«ड युनियन खारेज गर्ने प्रयत्न, स्ववियु खारेज गर्न खोज्ने प्रयत्न, अध्यादेशमार्फत शासन चलाउने दुष्प्रयास, सुकुम्बासीहरुमाथि डोजर आतंक, श्रमजिवी वर्गहरुलाई दिइएका सामाजिक सुरक्षाका विषयहरुलाई क्रमशः कटौती गर्दै जाने प्रयास र निर्वाचित संस्थाहरु संसद, राष्ट्रपति, न्यायालय जस्ता संस्थाहरुको अवमूल्यनमार्फत मोटामोटी दृश्य कस्तो देखिन्छ भने एउटा निर्वाचित अधिनायकतिर मुलुक अगाडि बढ्न खोजेको जस्तो देखिन्छ,’ उनले भने, ‘यसले एउटा बलियो लोकतान्त्रि, प्रगतिशील प्रतिपक्षको माग गर्दछ । संसदमा हाम्रो उपस्थिति तुलनात्मक रुपमा कमजोर छ । तर जनता, मिडियाकर्मीहरु र सामाजिक संघसंस्थाहरुले यसमा भूमिका खेलेर लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्न नदिन र संविधानको रक्षा गर्न, सामाजिक न्यायसहितको बाटो तर्जुमा गर्न समयले आज हामीलाई कठोर अग्निपरिक्षाको सामू उभ्याएको छ ।’

संसदमा एमालेको उपस्थिति तुलनात्मक रूपमा कमजोर भएपनि जनता, मिडियाकर्मी र सामाजिक संघसंस्थाले संविधानको रक्षा र सामाजिक न्यायसहितको बाटोमा मुलुकलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्