
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडलले प्रधामन्त्री बालेन्द्र साहले जानीजानी संसदको उपेक्षा गरेको आरोप लगाएका छन् ।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको आरोप लगाएका हुन् । प्रधानमन्त्री संसदप्रति उत्तरदायित्व हुनुपर्नेमा उनले जोड दिए ।
वर्तमान सरकारको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको उनको भनाई छ । ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्न थालेको उनले बताए । यसले नागरिकमा निराशा बढ्दै जाने र व्यवस्था परिवर्तनकै खतरनाक सोच विकसित हुनसक्ने बताए ।
उनले सरकारले शक्तिको अत्यधिक केन्द्रिकरण गरेको पनि आरोप लगाए । राजश्व अनुसन्धान, सम्पती शुद्धीकरण र विशेष अनुसन्धान जस्ता निकायहरूलाई प्रधानमन्त्री केन्द्रित बनाएको उनको आरोप छ । उनले संवैधानिक परिषद्लाई पपनि ६ सदस्यीय समितिमा ३ जनाले बहुमत पुग्ने संरचना बनाएको बताए ।
उनकाअनुसार यस्तो अभ्यास विश्वमै दुर्लभ छ । नेता पौडेलले नेपाली काँग्रेस अहिले प्रतिपक्षको भुमिकामा रहेको उल्लेख गर्दै लोकतन्त्र र संसदीय प्रणालीको रक्षा गर्न सरकारलाई निरन्तर प्रश्न गर्ने बताए । सरकार असफल होस् भन्ने हाम्रो चाहना नभए पनि लोकतन्त्र कमजोर बनाउने कुनैपनि प्रयासविरुद्ध प्रतिपक्ष चुप बस्न नमिल्ने उनको भनाई छ ।
उनले ‘म नै सबैथोक हुँ’ भन्ने मनोविज्ञान प्रधामन्त्रीमा हाबी भएको आरोप लगाए । यस्तो प्रवृत्तिले लोकतन्त्रलाई नै निल्ने खतरा हुने उनको भनाई छ । उनले सरकारलाई समयमा नै सिमाभित्र राख्न नसकेमा लोकतान्त्रिक मूल्य र प्रणालीमा गम्भीर संकटमा पर्न सक्ने बताए । लोकतान्त्रिक चरित्र कमजोर भएको राज्यले नागरिकलाई पीडा दिने उनको भनाई छ । उनले काँग्रेस पार्टी लोकतान्त्रिक मूल्य र विधिको रक्षा गर्न पछि नहट्ने बताए ।














