काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताबाट टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय बेहोर्नुपरेको बताएका छन् ।

मदन आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद र युवा विषयक’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने, ‘गत निर्वाचनमा बेहोरेको पराजयको समीक्षा आवश्यक छ । जनतासँग भिजेका भन्दा जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा हामीले पराजय बेहोरेको यथार्थता भुल्नुहुँदैन ।’
एमाले जनतामुखीभन्दा सत्तामुखी बन्दा कमजोर बनेको बताउँदै महासचिव पोखरेलले भने, ‘जबजको नीति कार्यान्वयनमा समस्या भयो । जनतासँग भन्दा सत्तासँग नजिक हुने परिपाटीको विकास भयो । यसैका कारण दिनप्रतिदिन पार्टी कमजोर हुँदै गएको छ । यसलाई नसच्याउँदासम्म पार्टी बलियो हुँदैन ।’
पार्टीले जनताका बीचमा जाने शैली परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले जनभावना बुझ्ने र समाजसँग घुलमिल हुने कार्यकर्ता तयार गर्नुपर्ने बताए ।
महासचिव पोखरेलले पपुलिज्मको विकल्प वैचारिक दृष्टिकोणयुक्त युवाशक्ति भएको उल्लेख गर्दै समाज रूपान्तरणका लागि युवाहरू स्पष्ट दृष्टिकोणसहित अघि आउनुपर्ने बताए । उनले पपुलिज्मको आडमा भित्रिँदै गरेको अधिनायकवादलाई जनताको बहुदलीय जनवादको मार्गदर्शनमा युवाहरुले नै परास्त गर्नुपर्ने धारणा राखे ।
सूचना प्रविधिको क्षेत्रमा बढ्दो ‘गेमिङ प्रोजेक्ट’ बाट युवाहरूलाई मुक्त गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सूचना र प्रविधिका माध्यमबाट मार्क्सवाद र अतिरिक्त मूल्यको सिद्धान्तलाई नयाँ ढंगले व्याख्या गर्ने जिम्मेवारी युवाकै काँधमा आएको बताए । सूचना प्रविधिमा सक्रिय युवाहरूले त्यसैको प्रयोग गरेर मार्क्सवाद र त्यसका आयामबारे बहस सुरु गर्नुपर्ने उनको भनाइ थियो ।














