Logo
Logo

कांग्रेस रुपन्देहीकी उपसभापति शाहले दिइन् राजीनामा


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवाद चर्किँदै जाँदा रुपन्देहीकी उपसभापति डा अनिता ढुंगाना शाहले पदबाट राजीनामा दिएकी छन् ।

निर्वाचनमा पार्टीको पराजयपछि उपसभापति थानेश्वर घिमिरेले दिएको राजीनामा स्वीकृत नभएकै बेला अहिले अर्का उपसभापति डा. अनिताले पनि पदबाट राजीनामा दिएकी हुन् ।

कांग्रेस सरकारमा रहेको बेला योजना आयोगको सदस्य बनेकी उनी सो पार्टीका नेता पूर्वमन्त्री भरत शाहकी श्रीमती हुन् ।

कांग्रेस नेताहरुका अनुसार अनिताले पार्टीका जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणको कार्यसम्पादनप्रति असन्तुष्ट जनाउँदै आएकी थिइन् ।

अहिले पनि उनले सभापति खाणलाई राजीनामा नदिएर सामाजिक सञ्जालबाट मार्गप्रशस्त गरेको जनाएकी छन् । नेतृ शाह यसअघि पदबाट राजीनामा दिएका घिमिरेको विषय यत्तिकै थाती राखिएको भन्दै असन्तुष्ट रहेकी थिइन् ।

कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले सहोदर भाइ रामकृष्ण खाणलाई रुपन्देहीमा सर्वसम्मत बनाउन अनिता शाहलाई उपसभापति बनाएर मिलाएका थिए ।

तत्कालीन अवस्थामा खाण र शाह देउवा पक्षधर रहेपनि अहिले बालकृष्ण खाण गगन समूहमै लागेको कांग्रेस नेताहरुको आंकलन छ । भरत शाह रुपन्देही ५ बाट लामो समयदेखि पार्टीको तर्फबाट संसदीय राजनीति गर्दै आएका छन् ।

अहिले आकस्मिक रुपमा अनिताले पार्टीको उपसभापति पदबाट फेसबुकमार्फत राजीनामा दिएको विषयले पार्टीभित्रको विवाद बाहिर आएको हो ।

उनले पार्टीमा औपचारिक रुपले राजीनामा नबुझाउने तर सामाजिक सञ्जालबाट जिम्मेवारी छाडेको जानकारी दिने विषयले अन्य कतैको अवसर लिने योजना रहेको दाबी पार्टीका नेताहरुको छ ।

प्रतिक्रिया दिनुहोस्