
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषयमा राजनीतिक ‘स्टन्ट’ नगर्न सरकारलाई चेतावनी दिएका छन् । आईतवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान संशोधन आवश्यक भएपनि त्यसलाई लहडको भरमा लोकप्रियता कमाउने माध्यमका रूपमा अघि नबढाउन सरकारलाई चेतावनी दिएका हुन् ।
उनले संविधान प्रत्येक १० वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै संविधान संशोधन प्रक्रिया अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले अघि बढाउनुपर्नेमा जोड दिए । सभापति थापाले सरकारले ‘मैले गर्न खोजेको थिएँ, फलानाले गर्न दिएन’ भन्ने सन्देश फैल्याउनेगरी संशोधनको बहस उठाएको भन्दै आपत्ति जनाए ।
उनले संविधान संशोधन कुनै सनक वा हल्लाको भरमा नभई सम्हालिएर गर्न समेत सुझाव दिए । उनले संविधान संशोधनलाई सहमतिमार्फत अघि बढाउनुपर्नेमा जोड दिँदै राष्ट्रिय सभा र प्रतिनिधि सभाको प्रतिनिधित्व रहने गरी संसदभित्रैबाट सर्वदलीय संयन्त्र गठन गर्न प्रस्ताव गरे ।
संसदबाटै बन्ने संयन्त्रले संविधान संशोधनको विषयमा साझा धारणा बनाउँदा दलहरुबीच विश्वास र सहकार्यको वातावरण बन्ने उनको भनाइ छ ।
उनले भने, ‘संविधान संशोधन गर्ने हो, प्रत्यके दश वर्षमा पुनरावलोकन गनुपर्छ भनेको छ त्यो पनि गर्ने हो । तर संविधान संशोधन बडो सम्हालिएर गर्नुपर्नेछ । कुनै लहडमा, सनकमा हल्ला गरेर होइन । संविधान संशोधनको विषयमा पोलिटिकल स्टन्ट गरेर पनि हुँदैन । मैले यसो विषय राखेको थिएँ फलानोले मलाई गर्न दिएन भनेर हुँदैन । अहिले मलाई लागेको छ गर्न के खोजिएको छ भने यस्तो गर्न खोजिएको जुन कुराले धेरै थपडी पाउँछ । अनि मैले यस्तो गर्न खोजको थिएँ फलानोले गर्न दिएन भन्ने सोच राखेर संविधान संशोधनको बहस गरिएको हो कि । यस्तो कुरा सुन्दा पो रमाइलो हुन्छ । तर हामी यसमा बग्ने कुरा छैन । कसले हामीलाई गाली गर्छ भन्ने कुरा हुँदैन । हामी नेपाली काँग्रेस हो । हामी ठिक र सत्यको पक्षमा उभिने हो । समर्थन कहिले बढ्ला कहिले घट्ला । आज महत्वपूर्ण प्रश्ताव आएको छ । हामीले बाहिर पनि बहस गर्दै जाने र संसदभित्रैबाट राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैतिरको प्रतिनिधित्व हुनेगरी सर्वदलीय संयन्त्र बन्यो र त्यसले संविधान संशोधनको कुरा गर्यो भने त्यसले दलहरु जोडिने कुरा र विश्वासका लागि पनि एकदमै ठिक हुन्छ ।’
उनले विगतको राजनीति अनुभवका आधारमा गरेका कयौँ विषयहरु रहेको भन्दै ती विषयलाई अझै समृद्ध बनाउँदै लैजाने कुरामा नेपाली काँग्रेस गम्भीर रहेको बताए ।














