Logo
Logo

मनोजकुमार शर्माको निर्देशनमा रिट दर्ता रोकिएको कामु प्रधानन्यायाधीशको आरोप


4.5k
Shares

काठमाडौं । सर्वोच्च अदालतकी कायममुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रस्तावित प्रधानन्यायाधीशको सिफारिसविरुद्ध परेका रिट न्यायाधीश मनोजकुमार शर्माको निर्देशनमा दर्ता गर्न रोकिएको बताएकी छन् ।

वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठी, अधिवक्ता डा.प्रेमराज सिलवाल र गीता थापाले संवैधानिक परिषद्को सिफारिसविरुद्ध दायर गर्न खोजेका रिटहरू प्रशासनले दर्ता गर्न अस्वीकार गरेपछि उक्त विषयमा कामु प्रधानन्यायाधीश मल्लले मुख्य रजिस्ट्रारको ध्यानाकर्षण गराउँदै ‘प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका न्यायाधीश डा मनोजकुमार शर्माको निर्देशनमा रिट रोकिएको’ आदेशमा उल्लेख गरेकी हुन् ।

आदेशमा मुख्य रजिस्ट्रारले न्यायाधीशहरूसमक्ष आफूलाई प्रधानन्यायाधीशमा सिफारिस माननीय न्यायाधीशले नै निर्देशन दिएकाले फाइल दर्ता नगरेको जानकारी गराए । यस कार्यलाई कामु प्रधानन्यायाधीश मल्लले ‘न्याय प्राप्तिको बाटोको अवरोध’ र अदालतप्रतिको जनआस्थामाथि अविश्वास बढाउने व्यवहारको रूपमा व्याख्या गरेकी छिन् । रिट रोक्नु ‘न्याय प्राप्तिको बाटोको अवरोध’ र अदालतप्रतिको जनआस्थामाथि अविश्वास बढाउने व्यवहारको रूपमा व्याख्या गरेकी छिन् ।

कामु प्रधानन्यायाधीश मल्लले सर्वोच्च प्रशासनले प्रधानन्यायाधीश सिफारिसविरुद्धका रिटहरू दर्ता नगरी ‘होल्ड’ मा राखेर न्यायको बाटो अवरोध गरेको भन्दै आज १ बजेभित्र सबै निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । कामु प्रधानन्यायाधीश मल्लले जारी गरेको लिखित आदेशमा सर्वोच्च अदालतको प्रशासन र मुख्य रजिस्ट्रारले आफ्नो संवैधानिक र कानुनी जिम्मेवारी पुरा नगरेको उल्लेख छ ।

आदेशमा भनिएको छ, ‘कुनै पनि अन्यायमा परेको व्यक्ति वा संस्थाको तर्फबाट संविधान र कानुन बमोजिम अदालतको ढोका ढकढक्याउने जन्मसिद्ध आधारभूत मानव अधिकार सबैलाई प्राप्त छ । दरपिठ उपरको निवेदनहरू दर्ता नगरी रोकिराख्ने अधिकार सर्वोच्च प्रशासनलाई छैन ।’

प्रतिक्रिया दिनुहोस्