Logo
Logo

चीनको कोइलाखानीमा ग्यास सिलिन्डर विस्फोट, ८२ जनाको मृत्यु


0
Shares

काठमाडौं । चीनको उत्तरी शान्सी प्रान्तस्थित एक कोइलाखानीमा ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा ८२ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा कामदार अझै भूमिगत रूपमा थुनिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार चाङझाउ सहरको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ उक्त दुर्घटना भएको हो । दुर्घटना हुँदा २४७ जना कामदार खानीभित्र रहेको बताइएको छ ।

सुरुमा सिन्ह्वाले शनिबार बिहान आठजनाको मृत्यु भएको र ३८ जना भूमिगत रूपमा थुनिएको जनाएको थियो । पछि मृतकको संख्या बढेर ८२ पुगेको रिपोर्ट सार्वजनिक गरिएको हो । सिन्ह्वाका अनुसार विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ । उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ता भएका कामदारहरूको उद्धारका लागि हरसम्भव प्रयास गर्न, दुर्घटनाको कारणबारे गम्भीर अनुसन्धान गर्न तथा दोषीहरूलाई जवाफदेही बनाउन निर्देशन दिएका छन् । शान्सी प्रान्त चीनको प्रमुख कोइला उत्पादन क्षेत्रका रूपमा चिनिन्छ ।

ग्रीसभन्दा ठूलो क्षेत्रफल र करिब तीन करोड ४० लाख जनसंख्या रहेको यस प्रान्तका लाखौँ खानी मजदुरहरूले गत वर्ष एक अर्ब ३० करोड टन अर्थात् करिब १.१७ अर्ब मेट्रिक टन कोइला उत्खनन् गरेका थिए । यो चीनको कुल कोइला उत्पादनको झन्डै एक तिहाइ हिस्सा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्