काठमाडौं । दुई वर्षअघि व्यापारीसँग दानको जग्गा लिएर पार्टी कार्यालय बनाउन हुँदैन भन्दै फिर्ता गर्न आग्रह गरेका एमालेका दुई नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथि कारबाही गर्दै ६ महिनासम्म पार्टीको जिम्मेवारीबाट निलम्बन गरियो । तर यतिबेला एमालेले धन्यवादसहित व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने निर्णय गरेको छ । एमालेले पार्टी कार्यालय भवन बनाउन व्यापारीसँग उक्त जग्गा लिएर किन फिर्ता ग¥यो ? एमालेले यसबारे सार्वजनिक धारणा व्यक्त गरेको छैन ।

एमालेको आइतबार सकिएको आठौं सचिवालय बैठकले कीर्तिपुरमा १० रोपनी १४ आना जग्गासहित घर बनाइदिने गुरूङ दम्पतीको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने र बल्खुस्थित आफ्नै जग्गामा कार्यालय भवन बनाउने निर्णय गरेको छ ।
विगतमा यही निर्णय गरांै, बरु कार्यकर्ताहरूले भवन बनाउने पैसा दिनसक्छन भन्ने सन्देश प्रवाह गर्दा दुई नेतृलाई कारबाही गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले त्यही जग्गा फिर्ता गरेका छन् । उनले योे निर्णयको कारण खुलाउनु नपर्ने भन्दै ओलीप्रति नेता कार्यकर्ताहरूले रोष प्रकट गरिरहेका छन् ।
सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार बल्खुमा कार्यालय भवन बनाउन सकिने भए पनि एमालेले आफ्नो जग्गामा कार्यालय बनाउने प्रयास समेत नगरेर तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलबाट एमाले पार्टी कार्यालय सञ्चालन गर्दै आएको छ ।
मीनबहादुरसँग जग्गा लिँने निर्णयको विरोध गर्दा एमाले नेतृत्वले पाण्डे र तिम्सिनामाथि ‘पार्टीको संस्थागत निर्णय विपरित बोलेको’, त्यसले पार्टीको विधान ‘उल्लंघन गरेको’ र ‘पार्टीको प्रतिष्ठा र मर्यादामा आँच पुर्याएको’, जस्ता आरोप लगाएर कारबाही गरेको थियो । अहिले दुई वर्षपछि जग्गा फिर्ता गर्ने निर्णयले उनीहरुलाई गरेको कारबाहीको क्षतिपूर्ति र सामाजिक प्रतिष्ठामा पु¥याएको असरबारे एमाले नेतृत्व मौन रहेको छ ।
२०८१ असोजमा व्यवसायी मीनबहादुर गुरूङले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिँदै घरसमेत बनाइदिने भन्दै शिलान्यास समेत गरेका थिए । यसबारे एमालेमा ठूलो विवाद सिर्जना भएको थियो ।
पर्टी सचिवालय निर्णयको विरोध गरेको भन्दै नेताहरू डा. विन्दा पाण्डे, उषाकिरण तिम्सेनालाई ६ महिना सबै जिम्मेबारीबाट निलम्बन गरिएको थियो । एमालेलाई जग्गा दान दिएको निहुँमा गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा भाटभटेनीका आउटलेटहरुमा आगजनी गरिएको थियो । त्यसपछि गुरूङ नै आफ्नो प्रस्तावबाट फिर्ता भइसकेको नेताहरूले बताएका थिए ।
यहीबीचमा एमालेले अब त्यो जग्गा नलिने र बल्खुस्थित आफ्नै जग्गामा भवन बनाउने तयारी थालेको छ । बल्खुमा नयाँ कार्यालय भवन नबनुञ्जेल भाडामा घर खोज्ने पनि सचिवालय बैठकले निर्णय गरेको छ ।
२०७२ वैशाखमा भूकम्पले एमाले मुख्यालय भत्काएपछि त्यसयता एमाले भाडाको घरमा बस्दै आएको छ । सुरूमा यती होल्डिङको धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको भवनमा भाडामा बसे पनि विवाद भएपछि त्यहाँबाट हटेको थियो । चक्रपथ विस्तारका कारण भवनको केही भाग भत्कने भन्दै प्रतिष्ठानले सर्न भनेको थियो । त्यसपछि एमाले थापाथली हाइटमा रहेको मोती दुगड भन्ने व्यवसायीको घरमा केही समय भाडामा बसेको थियो ।
त्यहाँबाट २०७९ सालमा सर्दै च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा भाडामा बस्न पुगेको थियो । उक्त भवनमा भोगाधिकार लिजमा परिणत नगरेकाले सरकारले घर खाली गर्न भनिसकेको छ ।














