काठमाडौं । आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालयको बजेटमा भारी कटौती भएको छ भने रक्षा मन्त्रालयको बजेटमा केही वृद्धि गरिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार गृह मन्त्रालयका लागि १ खर्ब ८ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
चालू आर्थिक वर्ष २०८२/८३ मा गृह मन्त्रालयको कुल बजेट २ खर्ब ८ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ थियो। यसरी हेर्दा आगामी आर्थिक वर्षका लागि गृहको बजेट चालू आर्थिक वर्षको तुलनामा झण्डै आधा (करिब ५० प्रतिशत) ले घटेको देखिन्छ।
यता रक्षा मन्त्रालयको बजेटमा भने सामान्य वृद्धि भएको छ। आगामी आर्थिक वर्षका लागि रक्षा मन्त्रालयलाई ६४ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ। चालू आर्थिक वर्ष २०८२/८३ मा रक्षा मन्त्रालयको बजेट ६२ अर्ब १ करोड २१ लाख रुपैयाँ थियो।














