Logo
Logo

बालेनको अभिव्यक्तिलगत्तै सुस्तामा भारतीय एसएसबीको हस्तक्षेप, निर्माणाधीन तटबन्धको काम रोकियो


882
Shares

काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को दबावमा नवलपरासीको सुस्तामा निर्माण भइरहेको तटबन्धको काम रोकिएको छ ।

आइतबार प्रधानमन्त्री वालेन शाहले भारतसँगको सिमा समस्याबारे विवादित अभिव्यक्ति दिएलगत्तै एसएसबीको टोलीले नेपाली भूमिमा प्रवेश गरेर नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्याएको हो ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले एसएसबीको दबाबपछि काम रोकिएको पुष्टि गरे । निर्माणस्थलमा आइतबार साँझ ४०–५० जना भारतीय सुरक्षाकर्मी आएर काम रोक्न चेतावनी दिएको जानकारी स्थानीयबाट पाएको उनले बताए ।

कटान र डुबानको उच्च जोखिममा रहेको सुस्तालाई जोगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रूपैयाँ लगानीमा नारायणी नदी किनारमा तटबन्ध निर्माण भइरहेको छ । प्रधानमन्त्रीको सम्वोधनको साइड इफेक्ट उक्त क्षेत्रमा परेको उपाध्यायले बताए ।

एसएसबीले पहिल्यैबाट सुस्ताको नेपाली भूमिमा दाबी गर्दै आएपनि नारायणीको तटबन्ध रोक्न आयोजनाको काम भइरहेको थियो । तर हिजोको घटनाले अन्योल उत्पन्न भएको उनले बताए ।

नारायणी नदीको बहाबले गर्दा धेरै समयदेखि स्थानीयले दुःख पाएको उपाध्याय बताउँछन् । कुलमान घिसिङ मन्त्री हुँदा उनले आफैं उक्त स्थानमा पुगेर अवलोकन गराएका थिए ।

‘सुस्ता बचाउ अभियान’ का रवीन्द्र जैसवालले पनि हिजो साँझ भारतीय सुरक्षाकर्मीहरु आएर ‘विवादित क्षेत्रमा काम नगर्न’ भनेर फर्किएको बताए । भारतीय पक्षले दाबी गरेको क्षेत्रभन्दा धेरै वर काम भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्