
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री हेरफेर गर्ने भएको छ । कांग्रेसले मुख्यमन्त्री बाहेक सबै मन्त्री फेर्ने भएपछि एमालेले पनि नयाँलाई अवसर दिने भएको हो ।
अहिले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हीरा सार्की रहेका छन् । अब उनीहरू फिर्ता हुनेछन् ।
स्रोतका अनुसार एमालेले उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउने निर्णय लिएको छ ।
एमालेले नयाँ मन्त्री बनाउने सांसदको नाम मुख्यमन्त्री कमलबहादुर शाहलाई पठाइसकेको छ । शाहले भोलिसम्म सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् ।
कांग्रेसको आन्तरिक विवादको जगमा प्रदेश सरकार पुर्नगठन हुन लागेको हो । संसदीय दलको नेताबाट शाहलाई हटाउन कांग्रेसका ९ सांसदले हस्ताक्षर गरेका थिए । डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि शाहको पद जोगिएको थियो ।














