चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ चितवनको सभापतिमा मिनि माधव खनाल निर्वाचित भएका छन् । आइतबार सम्पन्न रास्वपा चितवनको प्रथम अधिवेशनबाट प्रतिस्पर्धीहरूलाई पराजित गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन् ।

कृष्ण प्रसाद भुसाल र प्रकाश आचार्यलाई हराउँदै खनालले नेतृत्व हात पारेका हुन् । खनालले २२२ मतसहित विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भुसालले १११ मत र आचार्यले २२ मत प्राप्त गरे ।
उपसभापति निर्मला गिरी निर्वाचित भएकी छन् । गिरीले १९० मत पाएर उपसभापतिमा बाजी मार्दा उनका निकटतम प्रतिद्वन्द्वी टिकादत्त इटनीले ८४ मत र प्रभाकार जोशीले ७३ मत मात्र पाए।
रास्वपा चितवनको सचिव पदमा तेजेन्द्र प्रसाद पौडेल १९४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेत्र लामिछाने १४५ मतमा सीमित रहे । यसैगरी, सहसचिव पदमा कुशल पाठक १८७ मत ल्याएर विजयी भएका छन् ।
उक्त पदका अन्य उम्मेदवारहरू पार्वती पाण्डेले ६९ मत, बेद प्रसाद आचार्यले ५४ मत र चुम बहादुर जिसीले ३७ मत प्राप्त गरे ।














