Logo
Logo

रुपन्देहीका दर्जन नाकाबाट तस्करी


441
Shares

काठमाडौं । भारतसँग खुला सीमा जोडिएको रूपन्देही जिल्लामा अवैध तस्करी नियन्त्रणभन्दा बाहिर गएको छ । सीमावर्ती क्षेत्रका विभिन्न नाकाबाट दैनिक रूपमा कपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक्स, कस्मेटिक लगायतका सामान अवैध रूपमा नेपाल भित्रिने क्रम बढ्दै गएपछि स्थानीय व्यापारीहरुले नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएका छन् ।

स्थानीय व्यवसायी, सीमावर्ती बासिन्दा तथा सुरक्षा स्रोतहरूले तस्करीमा संगठित गिरोह सक्रिय रहेको र केही सुरक्षाकर्मीको संरक्षण तथा मिलेमतोमै यस्तो धन्दा सञ्चालन भइरहेको जनाएका छन् । यसमा सशस्त्र प्रहरीका एसपी नवराज बोहोराको भूमिकालाई लिएर स्थानीय व्यापारीहरुले असन्तुष्टि जनाएका छन् ।

सशस्त्र प्रहरीले मुख्य भन्सार नाकाहरूमा निगरानी कडा बनाइए पनि खुला सीमा र भित्री बाटोहरूको प्रयोग गरेर तस्करहरूले अवैध कारोबारलाई निरन्तरता दिएका छन् । विशेष गरी रूपन्देहीका बुची, बोधवार, पिप्रहवा, मनहरापुर, भगवानपुर लगायतका भित्री नाकाहरू अहिले तस्करीका प्रमुख मार्गका रूपमा प्रयोग भइरहेकोमा सशस्त्र प्रहरी मुकदर्शक बनेको आरोप लागेको छ ।

स्थानीय स्रोतका अनुसार भारतबाट कपडा, हार्डवेयर, खाद्यान्न, कस्मेटिक तथा दैनिक उपभोग्य सामग्री ठूलो मात्रामा चोरी पैठारी गरी नेपाल ल्याउन थालिएको छ । सीमाक्षेत्रमा सक्रिय तस्कर समूहहरूले सुरक्षाकर्मीहरूसँग ‘लाइन मिलाएर’ काम गर्ने गरेको आरोप व्यवसायीहरूबाटै उठिरहेको छ ।

स्रोतहरूका अनुसार सीमाक्षेत्रमा सक्रिय केही व्यक्तिहरूले वर्षौंदेखि तस्करीको नेटवर्क सञ्चालन गर्दै आएका छन् । तस्करी गर्ने समूहले सामानको परिमाण र नाकाअनुसार प्रहरीलाई नियमित रकम बुझाउने गरेको आरोप छ । विशेषगरी मनहरापुर क्षेत्रका सुरक्षाकर्मी नेतृत्वमाथि अवैध असुलीमा संलग्न रहेको आरोप लाग्दा पनि एसपी नवराज बोहोरा मौन बसेपछि उनको भूमिकालाई लिएर सशस्त्र प्रहरी मूख्यालयमा पनि चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्