
काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिमले प्रदेश सरकारले ल्याएको बजेट संशोधन नगरिए सरकारबाटै बाहिरिने चेतावनी दिएको छ ।
प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर एमाले प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेटमा आवश्यक संशोधन नगरिए सरकारबाटै बाहिरिने चेतावनी दिएको हो ।
पार्टीका प्रदेश उपसचिव एवं प्रचार विभाग प्रमुख भागरथी विष्टले विज्ञप्ति जारी गर्दै बजेट विनियोजन गर्दा एकलौटी ढङ्गले अघि बढ्न खोजेको र यसमा पार्टीको गम्भीर असहमति रहेको बताएका छन् ।
बैठकले बजेट संशोधनका लागि आफ्नो संसदीय दललाई आवश्यक निर्देशन दिने र माग पूरा नभए संयुक्त सरकारमा सहभागी भइरहन नसक्ने स्पष्ट पारेको छ ।
एमाले सुदूरपश्चिमले सरकारले बजेट ल्याउँदा संयुक्त सरकारको भावना, साझा नीति तथा कार्यक्रम र आपसी सहमतिलाई पूर्णतः लत्याएको निष्कर्ष निकालेको छ ।














