
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर आफ्ना ५ लाख २३ हजार ५ सय ६५ सदस्य रहेको जनाएको छ ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले चितवनमा जारी प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्रमा प्रस्तुत गरेको प्रतिवेदनमा देशभर आफ्ना ५ लाख २३ हजार ५ सय ६५ सदस्य रहेको जानाकारी दिएका हुन् ।
मधेश प्रदेश रास्वपाको सबैभन्दा ठूलो सदस्य आधार भएको प्रदेशका रूपमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार कूल सदस्यमध्ये २३.३ प्रतिशत मधेश प्रदेशमा रहेका छन् । बागमती प्रदेश २०.५ प्रतिशतसहित दोस्रो स्थानमा छ ।
कोशीमा १४ प्रतिशत, लुम्बिनीमा १४.५ प्रतिशत, गण्डकीमा ११.८ प्रतिशत, सुदूरपश्चिममा १०.६ प्रतिशत र कर्णालीमा ५.२ प्रतिशत सदस्य रहेको विवरणमा उल्लेख छ ।
पार्टीको सदस्य संरचनामा पुरुषको हिस्सा ७५.८ प्रतिशत रहेको छ भने महिलाको सहभागिता १७.२ प्रतिशत मात्र रहेको प्रतिवेदनले देखाएको छ । अन्य लैङ्गिक समूहको सहभागिता ०.१ प्रतिशत छ भने करिब ६.९ प्रतिशत सदस्यको विवरण खुल्न बाँकी रहेको जनाइएको छ ।
जातीय आधारमा खस–आर्य समुदायको प्रतिनिधित्व सबैभन्दा बढी ४१ प्रतिशत रहेको छ । मधेशी समुदायको हिस्सा १८ प्रतिशत, आदिवासी जनजाति १७.३ प्रतिशत, दलित ९.७ प्रतिशत, मुस्लिम २.५ प्रतिशत र थारू समुदाय २ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
उमेर समूहका आधारमा पार्टीमा युवाको बाहुल्यता देखिएको छ । १८ देखि ४५ वर्ष उमेर समूहका सदस्य ६४.१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । ४५ देखि ६५ वर्ष उमेर समूहका सदस्य १८.९ प्रतिशत र १८ वर्षमुनिका सदस्य ६.७ प्रतिशत रहेका छन् ।
रास्वपाले हालसम्म ६४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको जनाएको छ । ६०९ पालिका र ४ हजार ३६३ वडामा अधिवेशन सम्पन्न भइसकेको प्रतिवेदनमा उल्लेख छ ।
डोल्पा, हुम्ला, मनाङ, मुस्ताङ, रुकुमपूर्व, धनुषा, सप्तरी, बारा, सर्लाहीलगायत केही जिल्लामा अधिवेशन हुन बाँकी रहेको जनाइएको छ ।
प्रतिवेदनमा संगठन विस्तारको चरण पूरा गर्दै अब संस्थागत सुदृढीकरण, कार्यसम्पादन र परिणाममुखी राजनीतिक अभ्यासमा केन्द्रित हुने उल्लेख गरिएको छ ।
साथै महिला, दलित, मुस्लिम तथा थारू समुदायको सहभागिता बढाउन विशेष अभियान आवश्यक रहेको निष्कर्ष पनि प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।














