
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सुनियोजित ढङ्गले पक्राउ गरेको भन्दै संसद्मा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । मङ्गलबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसहित बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
सांसद गुरु बरालले उपाध्यक्ष पौडेलको गिरफ्तारी सुनियोजित भएको र यसकाविरुद्ध संसद्मा एमालेले सशक्त प्रतिवाद गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै बैठकले मुलुकमा विधिको शासन बहाल गर्न र सरकारी स्वेच्छाचारी अराजक कदमहरुविरुद्ध आवाज उठाउने निर्णय पनि गरेको छ । ‘त्यसबाहेक मुलुकमा बढेको महँगी, बाढी पहिरो लगायतका विषयमा सरकारको ध्यान नगएको भन्दै पीडितको पक्षमा निर्णय गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ’, बरालको भनाइ छ ।
पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।














