काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा संविधान संशोधन, स्थिर नेतृत्व प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा स्पष्ट धारणा राखेका छन्।

दस्तावेजमा लामिछानेले २०७२ सालमा जारी भएको नेपालको संविधान कार्यान्वयनको करिब एक दशकको समीक्षा गर्दै यसका उपलब्धि र कमजोरीमाथि खुला, इमानदार र जिम्मेवार बहस आवश्यक रहेको उल्लेख गरेका छन्। उनले संविधानप्रति रास्वपाको दृष्टिकोण स्पष्ट पार्दै पार्टी स्थिर नेतृत्व, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको बताएका छन्।
अहिलेको निर्वाचन प्रणालीले सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको भए पनि यसमा थप सुधार आवश्यक रहेको दस्तावेजमा औंल्याइएको छ। लामिछानेले राष्ट्रिय सभालाई गैरदलीय विज्ञहरूको सभा बनाउने तथा उपराष्ट्रपतिको भूमिकालाई राष्ट्रिय सभाको अध्यक्षसँग जोड्ने प्रस्ताव पनि अघि सारेका छन्। त्यस्तै, प्रदेश सभा र प्रदेश सरकारको पुनर्संरचना गरिनुपर्ने पक्षमा समेत पार्टी रहेको दस्तावेजमा उल्लेख छ।
दस्तावेजमा संविधानलाई कुनै दल विशेषको राजनीतिक स्वार्थअनुसार संशोधन गर्न नहुने धारणा राखिएको छ। संविधान संशोधन राष्ट्रको दीर्घकालीन आवश्यकता, जनताको अनुभव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित हुनुपर्नेमा जोड दिइएको छ।
रास्वपाले संविधानलाई अपरिवर्तनीय दस्तावेज नभई समयअनुसार परिमार्जन गर्न सकिने गतिशील कानुनी संरचनाका रूपमा लिएको छ। त्यसैले व्यापक राष्ट्रिय संवाद, विज्ञहरूको सुझाव, नागरिक सहभागिता र सम्भव भएसम्म सर्वदलीय सहमतिका आधारमा मात्र संविधान संशोधन गरिनुपर्ने प्रस्ताव दस्तावेजमा गरिएको छ।














