
काठमाडौं । अ उनले हालसम्म सात दर्जन भन्दा बढी चित्र एवं मूर्ति बनाई सकेकी छिन् । रिसिताको लागि क्यानभाषमा रमाउनु र आफनै स्टुडियोमा ट्रेनिङ दिनु नै उनको दैनिकी बनेको छ । मूर्तिकलामा स्नातक गरेकी उनै चित्र एवं मूर्तिकार रिसिता खत्रीसँग रेजिना पाण्डेको जम्काभेटः
अहिले केमा व्यस्त हुनुहुन्छ ?
आर्ट कला विषय नै विद्यालयमा पढाउँछु अनि आफ्नै रिद्धि आर्टस् स्टुडियो पनि केही महिना अगाडि खोलेका छौँ । त्यहाँ चित्र एवं मूर्ति बनाउने काम भइरहन्छ । त्यसमाथि प्रदर्शनीमा समेत सहभागी हुँदै आइरहेकोले व्यस्त नै छु ।
चित्र बनाउने रहर कसरी जाग्यो ?
यो मेरो बाल्यकालदेखिकै सोख हो । सानोमा केही दृष्यले मन छोयो भने कापीमा कोर्न हतारो हुन्थ्यो, त्यही हुटहुटीले गर्दा यही विषय लिएर पढेँ र आज यही काम नै मेरो पेशा बन्यो ।
चित्रकला र मूर्तिकलामा के फरक छ ?
चित्रकला जहाँ पनि एउटा योजना बनाएर रंग र ब्रससँग कोर्न सकिन्छ भने मूर्तिकलाको लागि स्टुडियोमा नै बसेर काम गर्नुपर्छ । मूर्तिकलामा त्यो मूर्तिले खोजेको जीवन्तता दिन सक्नुपर्छ ।
तपाईँले आफनो चित्र र मूर्तिहरू नेपाल बाहिर पनि लिएर जानुभएको छ ?
म विदेशका धैरै ठाउँ जाने अवसर चाहिँ पाएको छैन । भारत र चीनमा आफ्नो कला लिएर जाने मौका पाएको थिएँ । त्यहाँ गुप्रमा काम गर्दा निकै उत्साहित पनि भएँ । धैरै सिक्ने र विभिन्न फरकफरक कलालाई नजिकबाट अवलोकन गर्ने मौका पनि पाएँ ।
स्वदेशी र विदेशी कलाबीच के फरक छ ?
धैरै नै फरक छ । विदेशीहरु कला क्षेत्रमा निकै अगाडि छन् । कुनै समय रहरले पेन्टिङ गरिन्थ्यो भने अहिले यो औपचारिक शिक्षा बनेको छ । नेपालमा पनि आर्टस् पढाइ हुँदोरहेछ भनेर मलाई त धैरै पछि मात्र थाहा भयो ।
चित्र बनाएर बाँच्न सकिन्छ ?
पहिलेको तुलनामा यो व्यवसाय अहिले धैरै राम्रो भएको छ । धैरैले यही पेशाबाट जीवन चलाएका पनि छन् । आजभोलि कलालाई धैरैले बुझ्ने र कलाबारे अध्ययन पनि गर्न थालेका छन् । अहिले यही बिषयमा पढेर यसैलाई जीवनयापनको साधन बनाउनेहरू धेरै छन् ।
तपाईँले एकल मूर्तिकला प्रदर्शनी पनि गर्नुभयो ?
हो गरेकी थिएँ । चार दिनसम्म राम्रो भईरहको थियो । तर कोभिडको कारण बन्द गर्नुप¥यो । त्यतिबेला मिहेनतले खासै रगं ल्याउन भने सकेन । सायद, त्यो समयमा मलाई मात्र होइन, म जस्ता धैरै आर्टिसलाई कोभिडले असर ग¥यो ।
तपाईँ बढी सेरामीक आर्ट गर्नुहुन्छ, यो सेरामीक आर्ट भनेको के हो ?
मलाई आर्टमा नयाँ नयाँ काम गरौं भन्ने लागिरहन्छ । सेरामीक आर्ट भनेको माटोलाई विभिन्न आकार दिएर विशेष प्रकारको सिसा लगाउँदै उच्च तापक्रमसहित भट्टीमा पकाएर बनाइने कलाकृति हो । अहिले सेरामीक आर्ट नेपालमा राम्रो भइरहेको छ । विशेषगरी युवा पुस्ताले यसलाई नवीनतम् प्रयोग गरिरहको छन् । अहिले अधिकांश आर्ट स्टुडियो तथा कलेजमा पनि यसलाई प्राथमिकता दिइएको छ ।
तपाईँले कला क्षेत्रमार्फत के सन्देश दिन चाहनुहुन्छ ?
म एक भिजुअल आर्टिस्ट हुँ । मैले कलालाई सुन्दरताको लागि मात्र होइन, सामाजिक चेतना र वैचारिक परिवर्तनको बलियो माध्यमको रुपमा प्रयोग गर्छु । मेरो कलाले समाज बोल्नुपर्छ, समाज परिवर्तनको लागि सन्देश दिनुपर्छ जस्तो मलाई लाग्छ ।
आर्टस्ले समाज परिवर्तन गर्न सक्र्छ र ?
अरु विधा्जस्तै यो विधा पनि समाजका लागि बोल्छ, विद्रोह गर्छ । शान्त पनि हुन्छ, अशान्त पनि हुन्छ । आर्टस् पनि एउटा समाज परिवतर्न गर्ने माध्यम हो जस्तो लाग्छ ।
नेपालमा अहिले आर्टस् विषय धेरैको रुचि बनेर कलेज भर्ना हुन पनि थालेका छन् ?
पहिलेभन्दा अहिले युवाहरुको सोचमा परिवर्तन आएको छ । अभिभावकहरूको दबाबमा नभई आफैँ आर्टस् पढ्ने अवस्था छ । कलाबाट पीडा, चेतना र संस्कृति जस्ता विभिन्न विषयलाई पनि सजिलै देखाउन सकिन्छ । यसभित्र नृत्य र नाटक लगायतका वृहत् रुप समेत भएकाले यसप्रति आकर्षण बढ्दो छ ।
भविष्यमा यो क्षेत्रलाई कसरी अघि बढाउने सोचमा हुनुहुन्छ ?
यसलाई निरन्तरता दिँदै नयाँ नयाँ ‘कन्सेप्ट’ बनाएर काम गर्ने योजना छ । हाम्रा स्वदेशी कलालाई विश्वभर चिनाउने धोको छ ।














