काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्दै आएका सवारी साधनको कालो सिसा हटाएको छ।

सोमबार ट्राफिक प्रहरीले गृह प्रशासनका उच्च अधिकारीद्वयको गाडीको कालो सिसा हटाएको हो। ट्राफिक प्रहरीले सवारी साधनमा कालो सिसा हटाउने देशव्यापी अभियान थालेपछि गृहमन्त्री गुरुङ आफैं अग्रसरता देखाउँदै ट्राफिक प्रहरी कार्यालय पुगेका थिए। उनले कानुनको पालना सबैले गर्नुपर्ने भन्दै आफ्नो गाडीको कालो सिसा हटाउन लगाएर अभियानमा सहयोग पुर्याएका हुन्। त्यसलगत्तै गृहसचिवको गाडीको पनि कालो सिसा हटाइएको थियो।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं एसएसपी सुरेश काफ्लेले सुरक्षा र कानुनी राज्यको अवधारणालाई बलियो बनाउन कालो सिसा हटाउने अभियानलाई तीव्र पारिएको जानकारी दिएका छन्। पछिल्लो समय सवारी साधनमा कालो सिसाको आवरण प्रयोग गरी स–साना हतियार तथा अवैध लागुऔषध ओसारपसार एवं सेवन गर्ने जस्ता विभिन्न अवैध गतिविधिहरू हुने गरेको प्रहरीको निष्कर्ष छ।
कतिपय अवस्थामा सुन तस्करीदेखि गम्भीर अपराधमा संलग्न अपराधीहरू फरार हुन समेत यस्ता गाडीहरू प्रयोग भइरहेकाले ट्राफिक प्रहरीले यस कार्यमा कडाइ सुरु गरेको हो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा सवारी धनीले अधिकारप्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन गर्न नपाउने कानुनी व्यवस्था छ। सोही व्यवस्था र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले अनुमतिबिना कालो सिसा राख्ने निजी तथा सार्वजनिक सवारी साधनमाथि निगरानी र कारबाही तीव्र पारेको हो।














