
असार १४ गते अर्थात् जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्ती, यस दिन विशेष गरेर नेपालको कम्युनिष्ट आन्दोलनका विषयमा समीक्षा गर्ने गरिन्छ । जतिबेला जननेता भण्डारीले नेपालको वाम आन्दोलनमा जनताको बहुदलीय जनवाद अर्थात् बोलीचालीको भाषामा जबज प्रतिपादन गर्दै थिए, त्यतिबेला विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थाबाट गुज्रँदै थियो । तैपनि कम्युनिस्टहरू प्रतिस्पर्धाबाटै राज्यसत्तामा पुग्न सक्छन् र समाजवादी कार्यक्रम लागू गरेर आर्थिक समृद्धि हासिल गर्न सक्छन् भन्ने दृढ विश्वासका साथ एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट नेपालमा जबजको बिउ रोपियो ।
अर्थात् माक्र्सवादको सिर्जनात्मक प्रयोग भयो । ०४६ सालको संयुक्त जनआन्दोलनको सफलतासँगै नेपाली राजनीतिमा खुलारुपमा उदाएका मदनले जबजमार्फत सगरमाथाको चुचुरोमा कम्युनिष्ट आन्दोलनको झन्डा फहराउन सफल भए । जसलाई ‘न्युज विक’ पत्रिकाले ‘इन नेपाल, कार्ल माक्र्स लिभ्स’ भनेर भण्डारीको अन्तर्वार्ता प्रकाशित ग¥यो ।
नेपालको वामपन्थी आन्दोलनको इतिहासमा मदन भण्डारीको योगदानले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । जनताको बहुदलीय जनवाद(जबज)का प्रणेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरूले भण्डारीको योगदानको उच्च प्रशंसा गरेका थिए ।
नेपालको कम्युनिष्ट आन्दोलनमा लोकतान्त्रिकरणको अध्याय सुरु गरेका भण्डारीकै कारण मुलुकमा कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकार समेत बन्न सफल भएको हो । तर नेतृत्वको अहंकारले त्यो सफलता टिक्न नसक्दा विभाजित भएर आज रक्षात्मक अवस्थामा पुगेको छ । यसको गहिरो सिंहावलोकन नगरी गरिने एकताले पूर्णता पाउँदैन भन्ने कुरा विगतको तितो अनुभवले पनि देखाएको छ ।
जनआन्दोलनदेखि संविधान निर्माणसम्मका अनेक महत्त्वपूर्ण राजनीतिक मोडमा वाम शक्तिहरू निर्णायक भूमिकामा देखिनु मदन भण्डारीकै जबजको उपज हो । आज त्यही वाम आन्दोलन गुटगत टकराबका कारण विभाजित भएर कमजोर बन्दै जाँदा जनस्तरमा यसको विश्वसनीयतामै प्रश्न उठ्न थालेको छ ।
यस्तो अवस्थामा विशुद्ध वाम एकता मात्रै नभएर रूपान्तरणको महसुस दिलाउनुपर्ने आवश्यकता पैदा भएको छ । विगतमा एकता असफल हुनुका कारण पहिल्याएर त्यसको गम्भीर आत्मसमीक्षा गर्दै सैद्धान्तिक मतैक्यता कायम गर्दै रूपान्तरित एकता मात्रै परिणाममुखी हुनेमा सबै सचेत हुनुपर्छ । तत्कालीन नेकपाको एकता स्वार्थका कारणले टिक्न नसकेको तथ्यलाई गम्भीरतापूर्वक मनन गर्दै त्यसबाट पाठ सिक्नुपर्ने आजको आवश्यकता हो । अबको एकता नेताहरूका स्वार्थशिद्ध गर्ने साधन नभई समाजवादको साझा उद्देश्यका लागि भए मात्रै मदन भण्डारीको योगदानको साँचो अर्थमा कदर हुन्छ ।
अहिले मुलुकका मुख्य वाम घटकहरू वैचारिक रूपमा शान्तिपूर्ण संघर्षमार्फत समाजवादको लक्ष्य हासिल गर्नेमा एकमत छन् । संविधानले पनि समाजवाद उन्मुख राज्य व्यवस्था अंगीकार गरेको छ । तर व्यवहारतः नेतृत्वका कार्यशैलीगत समस्याले मात्रै मतभेद निम्त्याएको हो । समाजवादको नारा तय गरेका नेताहरू व्यक्तिगत टकराब, गुटगत स्वार्थको होडबाजीले वाम आन्दोलनलाई एकताबद्ध हुन नदिएको हो । अहिले देशमा दुई तिहाइको बालेन सरकार मनोमानी ढंगले अघि बढिरहेको छ । मुलुकका ज्वलन्त समस्या समाधान भन्दा पनि सरकार निरकुंश अधिनायकवादतर्फ अघि बढेको छ ।
मुलुक अहिले आन्तरिक समस्या र बाह्य भूराजनीतिक दबाबको सामना गरिरहेको छ । यस्तो राष्ट्रिय विषयमा वाम शक्तिहरूले साझा दृष्टिकोण निर्माण गर्न सके सरकारका गलत कदम र व्यवस्थाको रक्षार्थ महत्त्वपूर्ण भूमिका निर्वाह हुन्थ्यो । तर ‘मेरो गोरुको बाह्रै टक्का’ भन्दै आपसी कलह र अस्वस्थ राजनीतिक प्रतिस्पर्धामै अल्झिएपछि झनै संशय बढाएको छ ।
अहिलेको सन्दर्भमा राष्ट्रिय हित र समाजवाद उन्मुख नीतिका साझा एजेन्डामा सहकार्य गर्दै वाम आन्दोलन एकताबद्ध बनाउने दायित्व अब परम्परागत नेतृत्वले बहन गर्न सक्दैन । विगतमा नेतृत्वको सत्ता प्राप्ति मोह र आफ्नो रक्षाका लागि गरिएको एकता टिकाउ नभएको तथ्य सबैले आत्मसात गर्नुपर्छ । परिणाममुखी एकताका लागि नीति सिद्धान्तप्रतिको एकरूपता र प्रतिबद्धता अपरिहार्य हुन्छ ।
जनताले पनि अब केवल चुनावी प्रयोजनका लागि गरिने एकतालाई सहजै स्वीकार गर्ने अवस्थामा छैनन् । विगतका धोकाधडीले व्यवहारमै सच्चिएको अनुभूति दिलाउन जरुरी छ । त्यसैले वाम एकता नेतृत्वको संकट हटाउने साधन नभएर साझा उद्देश्य प्राप्तिको सेतु बन्नुपर्छ ।
यदि वाम शक्तिहरूले आफ्ना कमजोरीको आत्मसमीक्षा गर्दै राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राख्न सके मात्रै लोकतन्त्र र देश दुवैका लागि सकारात्मक हुन सक्छ । एकता केवल नेतृत्व हत्याउने र पद जोगाउने साधन मात्रै बनाउन खोजे त्यसले विगतका असफल प्रयोगकै पुनरावृत्ति हुने खतरा बाहेक अरू केही हुँदैन । मुलुकको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवादको लक्ष्य हासिल गर्न वाम शक्तिहरूले अब कोरा नाराभन्दा माथि उठेर व्यवहारमा रूपान्तरित भएको सन्देश दिन आवश्यक छ । त्यसले मात्रै वाम एकताको सार्थकता कायम रहन्छ ।














