Logo
Logo

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीहरूले आज शपथ ग्रहण गर्दै छन् । गत शुक्रबार सम्पन्न महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्य तथा ७ जना पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम बुधबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा हुन लागेको हो ।

शपथ ग्रहणलगत्तै नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्ने तयारी छ । उक्त बैठकपछि बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूको मनोनयन प्रक्रिया सुरु हुनेछ, जसमा सभापतिले मनोनीत गर्ने नामहरू केन्द्रीय समितिमा पेस गर्ने व्यवस्था छ । रास्वपाको विधान अनुसार कुल १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचित र बाँकी सदस्यहरू सभापतिद्वारा मनोनीत हुने प्रावधान छ ।

त्यस्तै, कुल १९ पदाधिकारीमध्ये सभापतिसहित ७ जना निर्वाचित हुने र बाँकी पदमा सभापतिले नै मनोनयन गर्ने व्यवस्था गरिएको छ । चुनावअघि रास्वपामा समाहित भएका प्रधानमन्त्री बालेन शाहको समूह र विवेकशील साझाको समूहलाई समायोजन गर्नकै लागि विधान परिमार्जन गरी मनोनीत हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको थियो ।

निर्वाचनका बेला पार्टीमा समायोजन भई आएका समूहलाई महाधिवेशनमा सिधै प्रतिस्पर्धा गर्दा जित्न कठिन हुन सक्ने आकलन गर्दै उनीहरूलाई पदाधिकारीमा मनोनीत गर्ने सहमति भएको थियो ।

सोही सहमति बमोजिम महाधिवेशनको पूर्वसन्ध्यामा बालेन समूहलाई समेट्नका लागि वरिष्ठ नेता, उपसभापति, महामन्त्री र सहमहामन्त्री लगायतका झन्डै १२ वटा नयाँ पदहरू सिर्जना गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्