Logo
Logo

‘ध्रुबे’बाट जोगिन गाउँ फेरे, भाग्य फेरिएन: बाजेबज्यै मार्ने हात्तीले नै उजाड्यो नातिको सिन्दूर र काख


126
Shares

काठमाडौं । शान्त रात, मिठो निन्द्रा र ससाना सपनाहरू । चितवनको भरतपुर महानगरपालिका–२३, जगतपुरकी २४ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय अबोध छोरा भरतलाई के थाहा- त्यो रात उनीहरूको जीवनको अन्तिम रात बन्दै थियो । साँझको खाना खाएर ढुक्कसँग सुतेको एउटा विपन्न परिवारमा मध्यरातको ११ः३० बजे अचानक काल बनेर आयो- कुख्यात ध्रुवे हात्ती ।

बाँस र माटोले लिपेर बनाएको त्यो सानो झुप्रो भत्काउन त्यो मत्त हात्तीलाई कति नै बेर लाग्थ्यो र ! आँखाकै अगाडि श्रीमती र कान्छा छोरालाई हात्तीले लछारपछार पारिरहँदा, ६ वर्षीया छोरी सिरिसालाई काखी च्यापेका पूर्ण बोटेको मुटु कसरी रोएन होला ? आफू र बाँकी परिवारलाई बचाउन उनले अत्तालिँदै आफ्नै घरमा आगो सल्काउनुपर्‍यो ।

परालको त्यो आगोले हात्ती त भगायो, तर त्यतिबेलासम्म पूर्णको संसार जलिसकेको थियो। एकातिर श्रीमती र छोराको क्षतविक्षत शव, अर्कोतिर खरानी भएको सपनाको घर।

यो परिवारका लागि ध्रुवे हात्ती कुनै नयाँ नाम थिएन, यो त पुस्ताौंदेखि उनीहरूलाई लखेटिरहेको एउटा भयानक श्राप जस्तै बन्यो। ठीक १४ वर्षअघि (२०६९ मंसिर ३० गते) यही ध्रुवे हात्तीले माडीमा पूर्णका ७१ वर्षीय हजुरबुबा सोमला बोटे र ६८ वर्षीया हजुरआमा झरली बोटेको विभत्स हत्या गरेको थियो ।

आमाबाबु गुमाएपछि त्रसित बनेका पूर्णका बुबा शनिसराले हात्तीको त्यो सन्त्रासबाट जोगिनकै लागि आफ्नो थातथलो छाडेर जगतपुर बसाइँ सरेका थिए । तर नियतिको क्रूरता हेर्नुहोस्, मृत्युले उनीहरूलाई त्यहाँ पनि पछ्याउन छाडेन र दोस्रो पुस्तालाई पनि त्यसैगरी खोसेर लग्यो ।

जगतपुर आएपछि नवलपरासीकी आशिकासँग पूर्णको घरजम भएको थियो । असाध्यै सोझा श्रीमान्, वृद्ध सासूससुरा र अझै कमाएर घर चलाउन नसक्ने कलिला देवरहरू भएको त्यो घरमा सिंगो व्यवहारको कठीन भारी यी २४ वर्षीया आशिकाकै काँधमा थियो।

छिमेकीहरूका अनुसार आशिका नै त्यो घरको मेरुदण्ड थिइन्, जो अब कहिल्यै नफर्कने गरी अस्ताएकी छन् । गाउँकै कदम आधारभूत विद्यालयमा भर्खरै अक्षर चिन्दै गरेका ४ वर्षका सानो भरतको भविष्य पनि हाँस्दाहास्दै निभ्यो। यदि पूर्णले समयमै आफ्नै घरमा आगो नलगाएको भए, एउटै कोठामा सुतिरहेका परिवारका आठै जनाको ज्यान जाने निश्चित थियो। पूर्णले छोरी त बचाए, तर अब कुन मनले घरको खरानी र रित्तो काख हेरेर दिन काट्लान ?

ध्रुवे हात्तीले चितवनबासीलाई दिएको यो चोट पहिलो होइन । सेनाका मेजरदेखि सिपाहीसम्म, र गरिब बोटे परिवारका दुई पुस्तासम्म गरेर ध्रुवेले अहिलेसम्म २५ जना निर्ठोरी मानिसको ज्यान लिइसकेको छ। मध्यरातमा दुईवटा अमूल्य जीवन खोसेर ध्रुवे फेरि निकुञ्जको सुखीभार झाडीतिर बिलाएको छ।

प्रतिक्रिया दिनुहोस्