काठमाडौं । ललितपुरको इमाडोलस्थित एक गल्लीमा एक्लै हिँडिरहेकी युवतीसामु सार्वजनिक स्थलमा गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्।

प्रहरीका अनुसार बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल ललितपुर बस्दै आएका भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनापछि पीडित महिलाले सो घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले अनुसन्धान अघि बढाएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।
उनले बयानका क्रममा भनेका छन्, “म क्षणिक आवेग र उत्तेजनामा आएँ। मेरो मति बिग्रियो।” घटनाकै समयमा भट्टले ती युवतीसँग माफीसमेत मागेको खुलेको छ।
प्रहरी अनुसन्धानका क्रममा भट्टको मानसिक अवस्था सामान्य रहेको पाइएको छ। सार्वजनिक स्थानमै अभद्र व्यवहार देखाएपछि प्रहरीले उनको मानसिक अवस्थाबारे चिकित्सकहरूसँग परामर्शसमेत लिएको थियो।
हाल उनलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














