Logo
Logo

कुमारी बैंकको लाज छोप्ने लाभांश !


0
Shares

काठमाडौं । तीन वर्षसम्म सेयरधनीलाई लाभांशको मुख देखाउन नसकेको कुमारी बैंकले अन्ततः लाभांश घोषणा गरेको छ । तर, तीन वर्षको प्रतीक्षापछि बैंकले सेयरधनीलाई दिएको उपहार भने चुक्ता पुँजीको जम्मा २.१०५३ प्रतिशत नगद लाभांशमा सीमित भएको छ । करसहितको यो लाभांशले बैंकले लामो समयपछि सेयरधनीको हातमा केही त थमाइदिएको छ, तर त्यसको आकार हेर्दा लगानीकर्तालाई जिस्काएको जस्तो देखिन्छ ।

कुमारी बैंकको चुक्ता पुँजी अहिले २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँभन्दा बढी छ । त्यति ठूलो पुँजी बोकेको बैंकले तीन वर्षपछि घोषणा गरेको लाभांश भने २ प्रतिशत हाराहारीमा छ । अर्थात् बैंकको पुँजीको आकार र सेयरधनीले पाउने प्रतिफलबीच ठूलो अन्तर देखिएको छ ।

बैंकको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने र त्यसपछि साधारणसभाबाट पारित गराएर २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बोनस सेयर भने प्रस्ताव गरिएको छैन ।

तीन वर्षसम्म लाभांश नदिएको बैंकले चौथो वर्षमा बल्ल सेयरधनीलाई सम्झियो । तर सम्झँदा पनि हातमा राखिदिएको रकम २ प्रतिशत हाराहारी मात्रै । बैंकका लागि यो लाभांश वितरणको प्रक्रिया होला, तर लामो समयदेखि प्रतिफलको प्रतीक्षामा रहेका सेयरधनीका लागि भने यो घोषणा उत्सवभन्दा बढी प्रश्नको विषय बन्न पुगेको छ ।

लाभांश वितरणमा आएको यो ढिलाइको पृष्ठभूमिमा एनसीसी बैंकसँगको मर्जर पनि जोडिएको छ । मर्जरपछि कुमारी बैंकले लगातार तीन वर्ष लाभांश वितरण गर्न सकेन । तीन वर्षसम्म सेयरधनीले प्रतिफलको प्रतीक्षा गरे । चौथो वर्षमा बल्ल लाभांश घोषणा भयो । तर प्रतीक्षाको परिणाम भने २ प्रतिशत हाराहारीको नगद लाभांशमा आएर टुंगिएको छ ।

यही कारण कुमारी बैंकको पछिल्लो लाभांश घोषणा सामान्य लाभांश शेयरधनीका बीच घोषणाभन्दा बढी बहसको विषय बनेको छ । बैंकको पुँजी बढेको छ, कारोबारको आकार ठूलो छ, तर त्यही अनुपातमा सेयरधनीको प्रतिफल देखिँदैन । लामो समयसम्म लाभांश रोकिएपछि चौथो वर्षमा गरिएको घोषणा पनि औपचारिकता पूरा गर्ने तहमा सीमित हुँदा बैंकको लाभांश नीतिमाथि प्रश्न उठ्नु स्वाभाविक हो ।

अझ चाडबाडको मुखमा गरिएको यो घोषणाले पनि फरक सन्देश दिएको छ । वर्षौंसम्म लाभांश नपाएका सेयरधनीलाई बैंकले ठूलो राहत दिन नसके पनि लाभांश वितरण भयो भन्ने देखाउन खोजेको छ । यद्यपी यो बैंकको सञ्चालक र व्यवस्थापनको चलाखी मात्रै हो ।

तीन वर्षको खडेरीपछि परेको पानीजस्तै लाभांश आयो, तर पानीको मात्रा भने कति ? यही प्रश्न सेयरधनीका लागि महत्वपूर्ण बनेको छ ।

बैंकिङ क्षेत्रमा मर्जरपछि पुँजीको आकार बढाउने क्रम तीव्र बन्यो । तर पुँजी वृद्धि र व्यवसाय विस्तारसँगै सेयरधनीको प्रतिफल पनि सोहीअनुसार बढ्ने अपेक्षा थियो । कुमारी बैंकको पछिल्लो अवस्थाले भने ठूलो पुँजी आफैंमा पर्याप्त नहुने देखाएको छ । पुँजीको उपयोग, नाफा सिर्जना र अन्ततः त्यसबाट सेयरधनीले पाउने प्रतिफल महत्वपूर्ण हुन्छ ।

तीन वर्षसम्म लाभांश नपाएका सेयरधनीका लागि २.१०५३ प्रतिशत नगद लाभांशले पुरानो प्रतीक्षाको हिसाब त मिलाउँदैन । यसलाई तीन वर्षको सञ्चित लाभांशका रूपमा बुझ्ने हो भने त झन् प्रश्न गम्भीर हुन्छ ।

कुमारी बैंकले असोज २८ गते वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले प्रस्ताव पारित गरेपछि मात्र लाभांश वितरणको बाटो खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्