Logo
Logo

सुपरस्टारहरू किन मिस गर्छन् पेनाल्टी ? को कति पटक चुके ? – भिडियोसहित


0
Shares

काठमाडौं । मास्कटरक्लास फ्रीकीक गोल गर्ने मेस्सी, तर पेनाल्टीमा किन बारम्बार चुक्छन् ? यही प्रश्न अहिले फुटबल जगतमा सबैभन्दा धेरै उठिरहेको छ । जारी फिफा विश्वकपमा अर्जेन्टिनी सुपरस्टार लियोन मेस्सीले एकातिर गोलको वर्षा गरिरहेका छन् भने अर्कोतिर आफ्नै करियरको एउटा खराब रेकर्ड पनि बनाएका छन् । यही विरोधाभासले अहिले विश्व फुटबललाई निकै रोचक बनाइदिएको छ ।

पाँच खेल सकिँदासम्म मेस्सीको नाममा आठ गोल छ । उनी फ्रान्सका स्टार केलियन एमबाप्पेसँग संयुक्त रूपमा गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन् । आठ पटकका बालोन डी’ओर विजेता मेस्सी फेरि एकपटक विश्वकपको मञ्चमा चम्किरहेका छन् । तर यही विश्वकपले उनलाई एउटा यस्तो रेकर्ड पनि दिएको छ, जुन उनी आफैंले कहिल्यै सम्झिन चाहने छैनन् । उनी एउटै विश्वकप संस्करणमा दुई पेनाल्टी मिस गर्ने पहिलो खेलाडी बनेका छन् ।

इजिप्टविरुद्धको खेल त्यसको सबैभन्दा ठूलो उदाहरण बन्यो । खेलको २०औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो । त्यसबेला इजिप्ट १–० ले अघि थियो । अर्जेन्टिनालाई खेलमा फर्किन त्यो अवसर सुनौलो थियो । बल मेस्सीको खुट्टामा थियो । रंगशालाभरका लाखौं आँखा उनीमाथि थिए । तर यसपटक मेस्सीले गोल गर्न सकेनन् । उनले हानेको दिशामै इजिप्टका गोलकिपर मुस्तफा सुबिरले शानदार डाइभ मार्दै बल रोकिदिए ।

पेनाल्टी मिस गरेपछि मेस्सीको अनुहारमा निराशा स्पष्ट देखिन्थ्यो । खेलपछि पत्रकारहरूले त्यही क्षणबारे प्रश्न गरे । मेस्सीले कुनै बहाना बनाएनन् । उनले खुलेर भने, “वास्तवमा पेनाल्टी मिस गर्दाको क्षण मलाई आफैँसँग धेरै रिस उठेको थियो । हामी कठिन प्रतिद्वन्द्वीविरुद्ध खेलिरहेका थियौँ । यस्तोमा असफल पेनाल्टी प्रहार गर्दा सबै स्तब्ध भए । म पनि निकै झोक्किएको थिएँ ।”

यो विश्वकपमा उनको पहिलो गल्ती भने थिएन । समूह चरणमा अस्ट्रियाविरुद्ध पनि उनले पेनाल्टी खेर फालेका थिए । खेलको आठौँ मिनेटमा अर्जेन्टिनाले पाएको अवसरलाई उनले गोलमा बदल्न सकेनन् । त्यही मिससँगै मेस्सी विश्वकप इतिहासमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडीको सूचीमा पनि शीर्ष स्थानमा पुगे । यसअघि उनले सन् २०१८ को विश्वकपमा आइसल्यान्डविरुद्ध र २०२२ मा पोल्यान्डविरुद्ध पनि पेनाल्टी गोल गर्न सकेका थिएनन् ।

अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीले ३२ पेनाल्टी प्रहार गर्दा २५ गोल गरेका छन् । क्लब र राष्ट्रिय टोलीका सबै खेल जोड्दा उनले १५० पेनाल्टीमध्ये ११६ गोल गरेका छन् भने ३४ पटक चुकेका छन् । अर्थात् उनको सफलता दर करिब ७७ प्रतिशत छ । विश्वस्तरका शीर्ष पेनाल्टी टेकरहरूको औसतसँग तुलना गर्दा यो केही कम मानिन्छ ।

अब प्रश्न उठ्छ, आखिर मेस्सी किन चुक्छन् ? विश्लेषकहरूका अनुसार यसको मुख्य कारण उनको शैली हो । धेरै खेलाडीले बल हान्नुअघि नै कुन कुनामा प्रहार गर्ने भन्ने निर्णय गरिसकेका हुन्छन् । तर मेस्सी फरक छन् । उनी अन्तिम क्षणसम्म गोलरक्षकको चाल हेर्छन् । गोलकिपर कुन दिशामा जान्छ भन्ने अनुमान गरेर त्यसपछि मात्रै प्रहार गर्छन् । यही शैली धेरैपटक उनको सबैभन्दा ठूलो हतियार बनेको छ । तर कहिलेकाहीँ यही शैली उल्टै भारी पनि पर्छ ।

अस्ट्रियाविरुद्धको खेलमा गोलरक्षक अलेक्जेन्डर स्क्लजर अन्तिम क्षणसम्म आफ्नो स्थानबाट हल्लिएनन् । त्यसपछि मेस्सी दबाबमा परे । गोलरक्षकलाई छल्ने प्रयासमा उनले बल पोस्टबाहिर पठाए । खेलपछि मेस्सीले आफैंले निर्णयमा गल्ती भएको स्वीकार गरेका थिए । पेनाल्टी विशेषज्ञ गियर जोर्डेटको विश्लेषण पनि यही छ । उनका अनुसार गोलरक्षकको चाल हेरेर अन्तिम क्षणमा निर्णय गर्दा सटको नियन्त्रण गुम्ने जोखिम धेरै हुन्छ । यही कारणले मेस्सीजस्ता प्रतिभाशाली खेलाडी पनि कहिलेकाहीँ असफल हुन्छन् ।

मेस्सीको अर्को विशेषता पनि छ । उनी एउटै शैलीमा निर्भर हुँदैनन् । कहिले इन्स्टेप प्रहार गर्छन् । कहिले शक्तिशाली सट हान्छन् । कहिले पनेन्का शैली अपनाउँछन् । खुला खेलमा यही सिर्जनशीलताले उनलाई संसारकै उत्कृष्ट खेलाडी बनाएको छ । तर पेनाल्टीमा भने कहिलेकाहीँ यही विविधताले समस्या निम्त्याउने गरेको विश्लेषकहरूको भनाइ छ ।

यद्यपि पेनाल्टीमा कमजोरी देखिए पनि त्यसले मेस्सीको महानता घटाएको छैन । बरु उनी बारम्बार त्यसको क्षतिपूर्ति मैदानमै गर्छन् । अस्ट्रियाविरुद्ध पेनाल्टी मिस गरेका उनले त्यही खेलमा दुई गोल गर्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।

सत्या कुरा के हो भने पेनाल्टीमा चुक्ने सूचीमा मेस्सी एक्ला छैनन् । विश्वकप क्वाटरफाइनलको पहिलो खेलमै फ्रान्सका स्टार केलियन एमबाप्पे पनि पेनाल्टीमा चुके । फक्सबरोमा मोरक्कोविरुद्धको खेल गोलरहित बराबरीमा थियो । त्यही बेला नुस्सैर माज्राउईले एमबाप्पेमाथि फाउल गरेपछि फ्रान्सले पेनाल्टी पायो। एमबाप्पेले आफ्नो परिचित ‘स्टटर’ रन–अप अपनाए । बीचमा रोकिएर गोलकिपर यासिन बुनौतर्फ हेरे । तर उनको कमजोर प्रहार बुनौले सहजै बचाए ।

यद्यपि एमबाप्पे त्यहीँ रोकिएनन् । खेलको ६०औँ मिनेटमा शानदार कर्लिङ सटमार्फत उनले मोरक्कोको मजबुत डिफेन्सलाइन तोडे । त्यसको छ मिनेटपछि उस्मान डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्स २–० ले विजयी भयो । पेनाल्टी मिस गरे पनि एमबाप्पेले आफ्नो प्रभाव भने कायम राखे ।

तर उनको असफलताले अर्को बहस जन्माएको छ । ‘स्टटर’ रन–अप साँच्चै प्रभावकारी हो कि होइन ? आधुनिक फुटबलमा यो शैलीलाई लिएर लामो समयदेखि विवाद छ । केही समर्थक यसलाई चलाखी मान्छन् । केहीले अनावश्यक जोखिम भन्छन् । फिफाका नियमले दौडने क्रममा खेलाडीलाई रोकिएर गोलरक्षक झुक्याउने छुट दिन्छ । तर बल प्रहार गर्नुअघि अन्तिम क्षणमा भने त्यसो गर्न पाइँदैन ।

यो शैली नयाँ पनि होइन । जोन एल्ड्रिज, हुगो सान्चेज र पेलेले पनि यही तरिका अपनाएका थिए । तर यदि गोलरक्षक समयमै नझुके भने यही रणनीति खेलाडीमाथि उल्टै भारी पर्न सक्छ । यस विश्वकपमा ‘स्टटर’ रन–अप अपनाएर पेनाल्टी चुक्ने खेलाडीहरूको सूची पनि लामो छ। एमबाप्पेसँगै ब्रुनो गुइमाराएस, योर्गेन स्ट्रान्ड लार्सेन, मेस्सी र ह्यारी केन पनि यही सूचीमा छन् । केनले भने क्रोएसियाविरुद्ध पहिलो प्रयास दोहोर्याउने अवसर पाएपछि दोस्रो पटक ‘स्टटर’ नगरी गोल गरेका थिए ।

तथ्याङ्कले पनि यो शैली धेरै प्रभावकारी नरहेको देखाउँछ । विश्वकपमा सुटआउटसहित ‘स्टटर’ शैलीमा प्रहार गरिएका २६ पेनाल्टीमध्ये ११ गोल हुन सकेको छैन । अर्थात् सफलता दर केवल ५७ प्रतिशत मात्रै रह्यो । एमबाप्पेका व्यक्तिगत तथ्याङ्क भने अझै प्रभावशाली छन् । फ्रान्सका लागि उनले १६ पेनाल्टीमध्ये १४ गोल गरेका छन् । क्लब फुटबलमा उनले ६२ प्रयासमध्ये ५० गोल गरेका छन् । तर यसपटक उनको सामना विश्वकै उत्कृष्ट पेनाल्टी रोक्ने गोलकिपरमध्ये एक यासिन बुनौसँग थियो । विश्वकपमा सुटआउटसहित उनले सामना गरेका नौ पेनाल्टीमध्ये केवल दुईमा मात्रै गोल भएको छ । चार पेनाल्टी उनले बचाएका छन् भने तीन प्रहार गोलपोस्टबाहिर गएका छन् ।

पेनाल्टी मिस गर्ने चर्चा हुँदा अर्को नाम छुटाउनै मिल्दैन, क्रिस्टियानो रोनाल्डो । उनले व्यावसायिक करियरमा दुई सयभन्दा बढी पेनाल्टी प्रहार गरेका छन् । त्यसमध्ये ३६ पटक मिस गरेका छन् । यति धेरै मिस गरे पनि उनी विश्व फुटबलका सबैभन्दा सफल पेनाल्टी टेकरमध्ये गनिन्छन्, किनभने उनले अत्यधिक संख्यामा पेनाल्टी गोल पनि गरेका छन् ।

ब्राजिलका नेयमार जुनियरले २२ पेनाल्टी गुमाएका छन् । इटालीका फ्रान्सेस्को तोटीले २० पटक चुकेका छन् । सिरो इम्मोबाइलले १९, ज्लाटान इब्राहिमोभिचले १७, रोनाल्डिन्होले १६, एडिन्सन काभानीले १६ र सर्जियो अगुएरोले १४ पेनाल्टी मिस गरेका छन् । यसको के देखाउँछ भने जति महान् खेलाडीहरू पनि पेनाल्टी मिस गर्नबाट उम्कन सकेका छैनन् ।

तर जब यस्ता सुपरस्टार निर्णायक क्षणमा चुक्छन्, त्यसको प्रतिक्रिया असाधारण हुन्छ । सामाजिक सञ्जालदेखि टेलिभिजन स्टुडियोसम्म आलोचनाको वर्षा सुरु हुन्छ । कसैले भन्छ, अब उसको समय सकियो । कसैले भन्छ, ऊ ठूलो खेलको खेलाडी नै होइन । कतिपयले स्वार्थी भन्दै अर्को खेलाडीलाई पेनाल्टी दिनुपर्ने तर्क गर्छन् । अझ दुःखद कुरा, कतिपय अवस्थामा खेलाडीको परिवार, जात वा व्यक्तिगत जीवनमाथिसमेत आक्रमण सुरु हुन्छ ।

तर बिर्सने कुरा के हो भने पेनाल्टी केवल १२ यार्डको प्रहार होइन । त्यो एक प्रकारको मानसिक युद्ध हो । बल स्पटमा राखेर गोलतर्फ हिँडिरहेको खेलाडी त्यो क्षण संसारकै सबैभन्दा एक्लो मानिस हुन्छ । प्रशिक्षक बोल्न सक्दैनन् । सहकर्मीले सहयोग गर्न सक्दैनन् । हजारौँ दर्शकको हुटिङ, विपक्षी गोलरक्षकको हाउभाउ र करोडौँ दर्शकको अपेक्षा एउटै क्षणमा उसको दिमागमा थुप्रिन्छ ।

त्यसबेला खेलाडीको मनमा डर जन्मिन्छ– यदि यो प्रहार गोल भएन भने भोलि संसारले मलाई कसरी सम्झिनेछ ? यही डरले शरीरलाई कठोर बनाउँछ । सहजै गोल हुने प्रहार पनि कहिलेकाहीँ गोलरक्षकको हातमा पुग्छ वा पोस्टबाहिर उड्छ । त्यसैले पेनाल्टीलाई भाग्यको खेल भनेर मात्रै बुझ्नु गलत हुन्छ । यो कौशल, आत्मविश्वास, निर्णय क्षमता र मानसिक नियन्त्रणको सबैभन्दा कठिन परीक्षा हो । ठूला खेलाडीहरूको प्रत्येक प्राहर गोलरक्षकले वर्षौँदेखि अध्ययन गरिरहेका हुन्छन् । त्यसैले उनीहरूलाई झुक्याउनु झन् कठिन बन्दै जान्छ ।

अन्ततः एउटा पेनाल्टी मिसले कुनै खेलाडीको सम्पूर्ण करियर मापन गर्न सक्दैन । मेस्सी, एमबाप्पे, रोनाल्डो वा अन्य महान् खेलाडीहरू सबै कहिल्यै नचुक्ने मेसिन होइनन् । पेनाल्टी मिस हुनु भनेको केवल एउटा खराब किक मात्र होइन, यो त मानव मनोविज्ञानको सबैभन्दा कठिन परीक्षा हो, जहाँ विश्वका सर्वश्रेष्ठ खेलाडीहरू पनि चुक्न सक्छन् । तर, एउटा असफल पेनाल्टीले उनीहरूको खेल जीवनको योगदान र महानतालाई घटाउँदैन, बरु त्यसपछि उनीहरूले गर्ने सशक्त पुनरागमनले उनीहरूलाई अझ महान् प्रमाणित गर्छ ।

प्रतिक्रिया दिनुहोस्