Logo
Logo

बाथटबमा नुहाइदिएको बालकले नै मेस्सीलाई रोक्ला ?


252
Shares

काठमाडौं । फुटबलमा इतिहास कसरी दोहोरिन्छ भन्ने हेर्न बिहीबार बिहानको एटलान्टा मैदानको खेल हेरे पुग्थ्यो ! ठ्याक्कै चार दशकपछि लियोनेल मेस्सीले डिएगो म्याराडोनाको त्यही ऐतिहासिक विरासत फेरि ब्युँताइदिए । सन् १९८६ को विश्वकपमा म्याराडोनाले इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनालाई २-१ को ऐतिहासिक जित दिलाएका थिए भने २०२६ को यो महाभिडन्तमा मेस्सीले सेमिफाइनलमा ठ्याक्कै त्यही २-१ को नतिजा निकाल्दै टिमलाई फाइनलको टिकट दिलाए । फरक यत्ति हो– म्याराडोना आफैंले गोल हानेका थिए, मेस्सीले चाहिँ यसपालि दुवै गोलमा असिस्ट’ दिएर नायक बने ।

त्यहाँ केवल फुटबल मात्र भइरहेको थिएन, फकल्यान्ड युद्धको पुरानो घाउ, म्याराडोनाको ‘ह्यान्ड अफ गड’को सम्झना र ४० वर्ष लामो रिसइबीको राप मैदानमै महसुस हुन्थ्यो, जहाँ अन्त्यमा बाजी फेरि अर्जेन्टिनाले नै मार्यो । ८५ मिनेटसम्म त इंग्ल्यान्डले जितको उत्सव मनाउनै लागिसकेको थियो । रङ्गशालामा फ्यानहरू झुमिरहेका थिए भने सोसल मिडियामा ‘इट्स कमिङ होम’ भन्दै ट्रेन्डिङ सुरु भइसकेको थियो । सन् १९६६ पछि पहिलो पटक विश्वकपको ट्रफी घर लैजाने सपना उनीहरूले देखिसकेका थिए । तर फुटबलले फेरि एकपटक पाठ सिकाइदियो– जबसम्म रेफ्रीको अन्तिम सिट्टी बज्दैन, तबसम्म खेल सकिँदैन ! खेलको पासा अन्तिम क्षणमा पल्टियो र इंग्ल्यान्डको सपना फेरि एकपटक चक्नाचुर भयो ।

खेलको ५५औँ मिनेटमा जब मोर्गन रोजर्सको त्यो बबाल क्रसमा एन्थोनी गोर्डनले बललाई जाली चुमाए, तब लागिरहेको थियो– ल है, यसपालि चाहिँ इंग्ल्यान्डले इतिहास बदल्ने नै भयो ! सन् १९६६ यता, अर्थात् विगत ६० वर्षदेखि विश्वकपको फाइनल पुग्न नपाएर छटपटिएका बेलायती फ्यानहरू अब त पीडा मेटिने भयो भनेर ढुक्क भइसकेका थिए । तर, उनीहरूले एउटा कुरा बिर्सिए– विपक्षी टोलीमा जादूगर मेस्सी छन्, जसले ९०औँ मिनेटमा पनि खेलको पासा पल्टाइदिन सक्छ ।

६ मिनेट २४ सेकेन्ड ! हो, ठ्याक्कै त्यति समयभित्र अर्जेन्टिनाले मैदानमा जे गर्यो, त्यसले इंग्ल्यान्डको मुटु मात्रै फुटाएन, रङ्गशालामा जम्मा भएका हजारौँ बेलायती समर्थकहरूलाई स्तब्ध पारिदियो । खेल सकिन जम्मा ५ मिनेट बाँकी छँदा एन्जो फर्नान्डेजले २० यार्ड टाढाबाट हानेको त्यो रकेट प्रहार जब गोलमा परिणत भयो, इंग्ल्यान्डको अनुहारको रङ्ग उडिसकेको थियो । अनि इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले हानेको त्यो बुलेट हेडर गोलले त इतिहास नै दोहो¥याउँदै इंग्ल्यान्डको कन्तबिजोग बनाइदियो ।

यो ऐतिहासिक हारपछि अहिले सबैभन्दा ठूलो औँला इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलको रणनीतिमाथि उठेको छ । १–० को अग्रता लिएपछि टुचेलले जे गरे, त्यो आत्मघाती कदम मात्र थिएन, सरासर मूर्खता थियो । उनले टोलीलाई यति धेरै रक्षात्मक बनाए कि अर्जेन्टिनालाई ‘आऊ गोल हान’ भनेर खुला निमन्त्रणा दिए जस्तै भयो । एजरि कोन्सा, ड्यान बर्न र निको ओ’राइलीजस्ता डिफेन्डरहरूलाई मैदानमा उतारेर खेल ‘होल्ड’ गर्न खोज्नु नै उनको सबैभन्दा ठूलो भूल बन्यो । फरवार्ड मार्कस रासफोर्ड र आइभान टोनीलाई उनले इन्जुरी समयमा मात्रै मैदानमा छिराए । अब घरमा आगो लागिसकेपछि दमकल बोलाउनुको के नै अर्थ रहन्थ्यो र ! 

गोल खाएपछि अर्जेन्टिनाले जुन दबाब बनायो, त्यसलाई झेल्न केवल डिफेन्स बलियो बनाएर पुग्दैनथ्यो, जुन कुरा कप्तान ह्यारी केनको बोलीमा पनि झल्कियो । केनले खेलपछि स्पष्ट भने– ‘हामी १–० ले अगाडि भएपछि त्यसलाई जोगाउने प्रयास मात्रै गरिरहेजस्तो देखियौँ, तर विश्वकपको यो स्तरमा त्यो रणनीतिले काम गर्दैन ।’ केनको यो भनाइले के छर्लङ्ग पार्छ भने, जब तपाईँ अर्जेन्टिना जस्तो टोलीविरुद्ध खेल्दै हुनुहुन्छ, तब तपाईँ डराएर ब्याकफुटमा बस्नै सक्नुहुन्न । 

सुरुमा कडा प्रेसिङ दिएर अर्जेन्टिनालाई गल्ती गर्न बाध्य पारेको इंग्ल्यान्ड गोल गरेपछि किन एकाएक यस्तो डरपोक बन्यो ? यही प्रश्नले अबका धेरै वर्षसम्म बेलायती फुटबल विश्लेषकहरूलाई पोलिरहनेछ । सन् १९९० र २०१८ का सेमिफाइनल जस्तै, यसपटक पनि इंग्ल्यान्ड जितको मुखैमा पुगेर रित्तो हात फर्कियो । अब उनीहरूले तेस्रो स्थानका लागि फ्रान्सको सामना गर्नेछन्, जुन उनीहरूका लागि केवल एउटा झर्को लाग्दो औपचारिकता मात्रै हुनेछ ।

अब उमेरले डाँडा काट्न लागेका जादुगर मेस्सीको कुरा गरौँ । चार वर्षअघि जब ३५ वर्षको उमेरमा मेस्सीले कतारमा विश्वकपको ट्रफी उचाले, तब सारा संसारले सोचेको थियो– ’द गोट’को कहानी अब हिट भयो, सकियो । उनी आफैँले पनि त्यो मेरो अन्तिम विश्वकप हो भनिदिएका थिए । अझ सन् २०२३ मा युरोपियन फुटबल छाडेर अमेरिकाको इन्टर मियामी गएपछि धेरैले सोचेका थिए– अब मेस्सी बूढा भए, ‘रिटायर्ड लाइफ’को मज्जा लिन तिर लागे । तर, ३९ वर्षको उमेरमा एटलान्टाको मैदानमा मेस्सीले जुन प्रदर्शन गरे नि, त्यसले उमेर त केवल एउटा संख्या मात्रै हो भन्ने कुरा फेरि एकपटक प्रमाणित गरिदियो । उनी विश्वकपको सेमिफाइनल खेल्ने इतिहासकै सबैभन्दा बुढो ‘आउटफिल्ड’ खेलाडी बनेका छन्, जसले सन् १९५८ देखिको ३७ वर्षे पुरानो कीर्तिमानलाई तोडिदियो ।

यो खेलमा उनको नाममा गोल त रहेन, तर उनका ती दुईवटा बबाल ’असिस्ट’ खेलको भाग्य रेखा बदल्न काफी रहे । विशेष गरी खेलको ५५औँ मिनेटमा गोल खाएपछि मेस्सी मैदानको दायाँ भागमा सर्नु नै खेलको टर्निङ पोइन्ट बन्यो । त्यसपछिको ३७ मिनेटमा त अर्जेन्टिनाले इंग्ल्यान्डलाई बल छुनेसम्म मौका दिएन, ८८ प्रतिशत बल आफैँसँग राख्यो । सोच्नुहोस् त, ३९ वर्षको उमेरमा एउटा खेलाडीले विश्वकपको सेमिफाइनल जस्तो प्रेसर म्याचमा ९ पटक बल ’ड्रिबल’ गर्छ ! यो सन् १९६६ यताकै रेकर्ड हो । लाजमर्दो कुरा त के भने, इंग्ल्यान्डको पूरै टोली मिलेर पनि जम्मा ७ पटक मात्र ड्रिबल गर्न सक्यो । त्यसैले त प्रशिक्षक लियोनेल स्कालोनीले ठीकै भनेका हुन्– मेस्सी इतिहासकै सर्वश्रेष्ठ खेलाडी हुन्, यो प्रमाणित गर्न अब उनले केही गरिरहनु पर्दैन ।

जारी यो विश्वकपमा मात्रै मेस्सीको व्यक्तिगत ८ गोल र ४ असिस्ट पुगिसकेको छ र उनी सर्वाधिक गोलकर्ताको सूचीमा सबैभन्दा माथि छन् । अब यदि फाइनलमा पनि यही स्थिति रह्यो भने, धेरै असिस्ट गरेका कारण एमबाप्पेलाई पछि पार्दै यी बूढा जादुगरले फेरि एकपटक गोल्डेन बुट जित्ने छन् । गोल्डेन बुट मात्रै होइन, गोल्डेन बल र विश्वपको ट्रफी उचाल्उने मैका पनि छ, तर त्यसको लागि स्पेनलाई हराउनुपर्ने छ । 

खेलको रोमाञ्चकता त आफ्नो ठाउँमा छँदैछ, तर आउँदो सोमबार न्युजर्सीको मैदानमा हुने फाइनल खेलले एउटा अनौठो र पत्याउनै नसकिने संयोग बोकेर आउँदैछ, जसले खेलकुदको संसारलाई नै भावुक बनाइदिएको छ । यो केवल दुई देशबीचको लडाइँ मात्र होइन, फुटबलका दुई फरक पुस्ताका महानायकहरूको जीवन जोडिएको अचम्मको कथा हो । कथा सुरु हुन्छ सन् २००७ को डिसेम्बरबाट, जहाँ बार्सिलोना फाउन्डेसन र युनिसेफले एउटा च्यारिटी क्यालेन्डरका लागि फोटोसेसन राखेका थिए । त्यहाँ छानिएका थुप्रै बच्चाहरूमध्ये तीन महिनाको एउटा सानो बच्चा पनि थियो । तस्बिरमा लामो कपाल पालेका २० वर्षका एक लजालु युवा मुस्कुराउँदै प्लास्टिकको बाथटब अगाडि छन् र त्यो टबभित्र रहेको बच्चालाई प्रेमपूर्वक नुहाइदिइरहेका छन् । हो, ती २० वर्षका युवा अरू कोही नभएर मेस्सी थिए, र त्यो सानो बच्चा थिए– लमिन यमाल ! त्यो तस्बिर वर्षौंसम्म बार्सिलोनाको कुनै कुनामा थन्किएर रह्यो, तर जब हालै यमालका बुबाले त्यसलाई सोसल मिडियामा सेयर गरे, तब पूरै संसार चकित पर्यो । फुटबल प्रेमीहरूले जिस्किँदै भन्न थाले– मेस्सीले त उति बेलै यमाललाई आफ्नो जादुको आशीर्वाद दिएका रहेछन् !

नियतिको यो भन्दा सुन्दर खेल अरू के हुन सक्छ ? आज झन्डै दुई दशकपछि, तिनै बच्चा यमाल स्पेनको टोलीबाट तिनै जादुगर मेस्सीलाई विश्वकपको फाइनलमा टक्कर दिन मैदानमा उत्रिँदैछन् । यमाल पहिलो पटक विश्वकपको फाइनल खेल्दै छन् भने मेस्सी सम्भवतः आफ्नो करिअरको अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दै छन् । यसबारे यमाल आफैँ पनि भन्छन्– ‘इतिहासकै महान् खेलाडीसँग तुलना गरिँदा कसैलाई आपत्ति त हुँदैन, तर यो तुलनाले करिअरमा अगाडि बढ्न चुनौतीपूर्ण बनाउँछ, किनभने तपाईं कहिल्यै मेस्सी जस्तो बन्नै सक्नुहुन्न ।’ 

मेसीले उक्त फोटोबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् । तर उनले यी स्पेनिस युवा खेलाडीको पटक पटक प्रशंसा गरेका छन् । उनले धेरै अवसरहरूमा भनेका छन्, ’लामिन यमाल ती युवा खेलाडीहरूमध्ये एक हुन् जसले मलाई आफ्ना प्रारम्भिक दिनहरूको सबभन्दा बढी सम्झना गराउँछ ।’

हरेक युगमा फुटबलले एउटा नयाँ राजा खोज्छ । पेले, म्याराडोना, रोनाल्डो र मेस्सीपछि ’अब को?’ भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा धेरै युवा खेलाडीहरू आए, गए । तर, स्पेनको ’रोकाफोन्डा’ भन्ने एउटा गरिब र आप्रवासीहरू बस्ने बस्तीबाट भर्खरै निस्किएका १८ वर्षका ठिटा यमालले मैदानमा जे गरिरहेका छन्, त्यसले उनी साँच्चै नै ’विशेष’ हुन् भन्ने प्रमाणित गर्छ । रोकाफोन्डालाई स्पेनको धनी समाजले सधैँ हेयको दृष्टिले हेथ्र्यो, तर यमालले आफ्नो जरा कहिल्यै बिर्सेनन् । आज पनि उनी विश्वको जुनसुकै कुनामा गोल गरुन्, औँलाबाट ‘३०४’ नम्बरको संकेत बनाउँछन्, जुन रोकाफोन्डाको पोस्टल कोड हो । 

१५ वर्षकै कलिलो उमेरमा जब उनी बार्सिलोनाको मुख्य टोलीबाट डेब्यु गर्दै क्लब इतिहासकै सबैभन्दा कान्छो खेलाडी बनेर मैदान छिरे, तब विपक्षीका हेभिवेट डिफेन्डरहरू नै ‘यो कताको फुच्चे आयो’ भन्दै चकित परेका थिए । तर कहानी त भर्खर सुरु हुँदै थियो । १६ वर्ष टेक्दा नटेक्दै उनले स्पेनको राष्ट्रिय टोलीमा इन्ट्री मात्र मार्नेनन्, आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल नै ठोकेर सनसनी मच्चाइदिए । १७ वर्षको उमेरमा उनले सन् २०२४ को युरो कपमा स्पेनलाई च्याम्पियन नै बनाएर प्रतियोगिताकै उत्कृष्ट युवा खेलाडीको अवार्ड समेत पाए । 

अझ फ्रान्सविरुद्ध डी–एरिया बाहिरबाट उनले हानेको त्यो अद्भूत गोल त फुटबल प्रेमीहरूले जुनीभरि बिर्सने छैनन् । अनि आज १८ वर्षको उमेरमा बार्सिलोनाका लागि १०० भन्दा बढी खेल खेलिसकेर उनले तिनै जादुगर मेस्सी जस्तै ऐतिहासिक १० नम्बरको जर्सी भिर्दै मैदानमा तहल्का मच्चाइरहेका छन् । 

ब्राजिलियन महान् फुटबलर रोनाल्डिन्होले हालै भनेका थिए कि खेलाडीहरू सामान्यतया २४–२५ वर्षमा परिपक्व हुन्छन्, तर यमालले १९ वर्षमै जुन खेल देखाइरहेका छन्, त्यो पत्याउनै नसकिने खालको छ । स्पेनको परम्परागत ’टिकी–टाका’को कमजोरीलाई यमालले आफ्नो गति र ड्रिब्लिङले भत्काइदिएका छन् । उनी दायाँ भागबाट बल लिएर विपक्षीको डिफेन्सभित्र यसरी पस्छन् कि उनलाई रोक्न दुई–तीन जना डिफेन्डर एकैचोटि आउनुपर्छ, जसले गर्दा अन्य खेलाडीलाई गोल गर्ने खुला मौका मिल्छ ।

लामिन यमाल केवल फुटबल मैदानका जादूगर मात्र होइनन्, १८ वर्षकै कलिलो उमेरमा उनले जुन राजनीतिक र सामाजिक चेत देखाएका छन्, त्यसले उनलाई अन्य खेलाडीभन्दा धेरै माथि उठाएको छ । विश्वकप सुरु हुन मात्र एक महिना बाँकी छँदा, प्यालेस्टिनीहरूमाथि भइरहेको अत्याचारको विरुद्धमा उनले आवाज उठाए । बार्सिलोनाले ला लिगा जित्दा मुस्लिम धर्म मान्ने यमालले बसको छतमा प्यालेस्टाइनको झन्डा फहराएर संसारलाई एउटा बलियो सन्देश दिए । दक्षिणपन्थीहरूले उनको आलोचना गरे पनि, मानवताको पक्षमा उभिने उनको यो साहसिक कदमको विश्वभर प्रशंसा भयो ।

अब आइतबार राति न्युजर्सीको मैदानमा जब अर्जेन्टिना र स्पेन आमनेसामने हुनेछन्, तब मैदानमा केवल दुई टोली मात्र भिड्ने छैनन् । त्यहाँ फुटबलको वर्तमान र भविष्यबीच एउटा युद्ध हुनेछ । एकातिर ३९ वर्षका मेसी हुनेछन्, जो आफ्नो करिअरको स्वर्णिम अन्त्य गर्दै लगातार दोस्रो पटक विश्वकप उपाधि उचाल्न दाउमा हुनेछन् । अर्कोतिर १८ वर्षका यमाल हुनेछन्, जो फुटबलको नयाँ युगको सुरुवात गर्न तम्सिएका छन् ।

यो महाभिडन्त हेरिरहँदा संसारभरका करोडौँ फुटबल फ्यानहरूको आँखा अगाडि १९ वर्षअघिको त्यही बाथटबको तस्बिर झल्झल्ती आउनेछ । के मेसीले उति बेलै नुहाइदिएका ती बालकले आज उनकै साम्राज्य भत्काउनेछन् ? या फुटबलका राजाले आफ्नो अन्तिम गद्दी सम्हाल्दै युवा सिपाहीलाई पाठ सिकाउनेछन् ? यसको उत्तर सोमबारको त्यो ऐतिहासिक रातले नै दिनेछ, तर एउटा कुरा निश्चित छ– यो विश्वकप फाइनल फुटबल इतिहासकै सबैभन्दा भावनात्मक खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्