
कूटनीतिमा एउटा भनाइ छ– मित्र बदल्न सक्छौँ, छिमेकी बदल्न सक्दैनौँ । देशमा कुनै पनि खालको विपत्ति आइपर्दा सहयोग गर्न सबैभन्दा पहिला छिमेकी नै अग्रसर हुन्छन् । चाहे भूकम्पको बेलामा होस्, चाहे अन्य प्राकृतिक प्रकोप नै किन नहोस् हाम्रा लागि विपतको घडीमा हाम्रा छिमेकीहरू भगवान् भएर प्रकट हुने गरेको धेरै उदाहरणहरू छन् । त्यसैले व्यवस्था जस्तो होस्, सरकार जसको होस् छिमेकीप्रतिको सम्बन्ध र व्यवहारमा हामी एकनासले चल्नु पर्छ । कहिलेकाहीँ सम्बन्धमा तलमाथि प¥यो भने त्यसले हाम्रो सम्बन्धमा व्यवधान ल्याउँछ र त्यही व्यवधानका कारण हामीले अनावश्यक रूपमा कठिनाइ भोग्नुपर्छ ।
परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणमा त्यहाँका विदेशमन्त्री वाङ यीले भनेका थिए– टाढाको पाहुनाभन्दा नजिकको छिमेकी प्यारो हुन्छ । उनको यो भनाइमा चीन–नेपाल सम्बन्धको ऐतिहासिक तथ्यहरू लुकेको छ । त्यसलाई केलाउँदै जाने हो र त्यही ऐतिहासिक तथ्यको जगमा उभिएर हाम्रा छिमेकीप्रति हाम्रो विश्वास जगाउने हो भने तीन करोड जनताका लागि समृद्धि खोज्न टाढा जानै पर्दैन ।
हाम्रा दुई छिमेकी चीन र भारतले गरेको आर्थिक विकासबाटै हामीले समृद्धि हासिल गर्न सक्छौँ । २१ औँ शताब्दीको कूटनीति भनेको आर्थिक कूटनीति हो, त्यसमा हामी दशकौंदेखि पछाडि परेका छौँ र अरूको स्वार्थमा हामी प्रयोग हुँदा हाम्रा छिमेकी हामीप्रति झस्किनुपर्ने अवस्था खडा भएको छ ।
गत भदौ १० गते बुधवार तिब्बतको हिमताल फुटेर आउँदा खर्बौँको नोक्सानी भयो, हजारौँ नागरिकले अकाल मृत्युवरण गर्नुप¥यो । त्यस्तो आपतविपतको बेला हामीप्रति हाम्रा छिमेकीले सहानुभूति राख्दै सहयोगको हात फैलायो । नेपालस्थित चिनियाँ दूतावासले वक्तव्य जारी गर्दै उक्त घटनाबाट दुवै देशका नागरिक पीडित भएकोले उक्त समस्याको समाधान दुवै देश मिलेर गर्नुपर्ने आग्रह ग¥यो ।
आपतविपत्को बेला कुनै पनि अप्रिय घटनासँग छिमेकीलाई मुछ्नु उचित हुँदैन । हिमताल फुट्ने सूचना चिनियाँ पक्षले समयमै पाएको भए चीनतिर त्यति ठूलो धनजनको क्षति हुने थिएन । यो कुरासँग जोडेर चीनलाई चिढ्याउनुको कुनै अर्थ छैन । गत बुधवार बिहानको उक्त दुःखद घटनाले त्यहाँका राष्ट्रपति सी जिनपिङलाई पनि कति चिन्तित तुल्याएको रहेछ भन्ने कुरा राष्ट्रपति सीको सम्बोधनबाटै थाहा हुन्छ ।
अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा यस्तो विपतको बेला सामाजिक सञ्जालबाट सम्प्रेषित अनेकौँ खालका भ्रमपूर्ण सूचनाले छिमेकी चीन कति दुःखी भएको रहेछ भन्ने कुरा काठमाडौँस्थित चिनियाँ दूतावासले वक्तव्य नै निकाल्नुपर्ने अवस्थाले देखाउँछ । बालेन सरकार आएपछि एकपछि अर्को गरेर चीनविरोधी क्रियाकलाप बढ्दै गएको छ । त्यसले छिमेकले हामीप्रति हेर्ने दृष्टिकोण पनि बदलिएको छ । यो कुरालाई रास्वपा र प्रधानमन्त्री साहले गम्भीरतापूर्वक लिनुपर्छ । र, नेपालमा बसेर चीनविरोधी गतिविधि गर्नेहरूमाथि कडा कारबाही गरेर देखाउनुपर्छ । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ भनेर मात्र पुग्दैन, त्यो प्रतिबद्धता हरेक घडी, हरेक क्षण प्रमाणित गर्नुपर्छ ।
त्यसै गरी, अर्को छिमेकी भारत पनि नेपालको बदलिँदो राजनीतिक परिस्थितिलाई ‘पर्ख र हेर’को अवस्थामा छ । नेपालको हरेक राजनीतिक परिवर्तन र लोकतान्त्रिक आन्दोलनमा काँधमा काँध, साथमा साथ दिएर हिँडेको छिमेकीलाई झस्काउने खालको कुनै पनि गतिविधिमा हाम्रो संलग्नता देखिनु हुँदैन । भूराजनीतिमा आएको परिवर्तनले हामीप्रति दुवै छिमेकीले शंकाको दृष्टिले हेर्न थाले भने जतिसुकै गफ गरे पनि हामीले आर्थिक समृद्धि र राजनीतिक स्थिरता कायम गर्न सक्दैनौँ । हामी अन्त्यहीन द्वन्द्वमा फस्दै जाने छौँ । नेपालमा घटेका पछिल्ला घटनाले त्यसको संकेत गरे पनि समयमै त्यस्ता घटनाको समाधान खोज्नु नेपाल र नेपालीको लागि बुद्धिमानी हुनेछ ।
गत बुधवार बिहानको दुःखद घटनाले हामीलाई जति पीडा दिए पनि त्यो आलो घाउमा मलमपट्टी लगाउनुको विकल्प छैन । बेपत्ता र हराइरहेकाहरूको खोजी गर्नु र पीडित परिवारलाई राज्य छ भन्ने अनुभूति दिलाएर राहत दिनु अहिलेको प्रमुख दायित्व हो । त्यसमाथि खर्बौँको सडक, पुल, जलविद्युत्, सरकारी भवनलगायतका पुनर्निर्माणमा जुट्नु अहिलेको आवश्यकता हो । त्यसका लागि छिमेकीको विश्वास जित्नु पहिलो सर्त हो । किनभने, भूकम्पका बेलामा पनि नेपाली जनताले यस्तै दुःख, पीडा भोगेका थिए, त्यसमा मलमपट्टी लगाउने र पुनर्निर्माणमा छिमेकीको सहयोग स्मरणीय छ । समयले हामीलाई फेरि त्यही ठाउँमा पु¥याएको छ, जहाँबाट धुलो टकटक्याएर हामी उठ्नु छ । त्यसका लागि हाम्रा छिमेकी, मित्र राष्ट्रको सहयोगको खाँचो छ ।














