Logo
Logo

कञ्चनपुरमा भारतीय सहयोगमा महेश्वर माध्यमिक विद्यालय भवनको शिलान्यास


252
Shares

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ। आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको करिब १ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोगमा उक्त भवन निर्माण हुन लागेको हो। ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत निर्माण हुने यो भवन भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ । कञ्चनपुर जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालित यो ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

भवन शिलान्यास समारोहमा बोल्दै भीमदत्त नगरपालिकाकी उपप्रमुख जोशी तथा अन्य सरोकारवालाहरूले भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन् । नयाँ निर्माण हुने पूर्वाधारले विद्यालयका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण अझ सहज र गुणस्तरीय बनाउन ठूलो मद्दत पुग्ने विश्वास उनीहरुले व्यक्त गरेका छन् ।

नजिकको छिमेकी राष्ट्रका नाताले भारत र नेपालबीच बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार निर्माण गरी नेपाल सरकारको विकास र समृद्धिको यात्रामा सघाउने भारतको नीतिकै निरन्तरता स्वरूप यो परियोजना अघि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्