Logo
Logo

घण्टी, अजान र मौन आकाश


भुपेन्द्र थापा ’ माधव’

189
Shares

कसैले
बिहानको निस्तब्धतामा
घण्टी बजायो
आकाशले केही भनेन।

कसैले
साँझको हावामा
अजान मिसायो
हावाले कुनै सीमा कोरेन।

कतै धूपको धुवाँ उठ्यो,
कतै प्रार्थनाका हात जोडिए,
कतै मौनताभित्र
ईश्वरलाई खोजियो।
आकाश उस्तै रह्यो।
तर
मानिसले मानिसका बीच
अदृश्य पर्खालहरू उठाइरह्यो।

हामीले
कहिलेदेखि सिक्यौँ
आफ्नो भगवान् जोगाउन
अर्काको विश्वास तोड्नुपर्छ भनेर?
कहिलेदेखि
प्रार्थनाको बाटो
ढुंगाको बाटो भयो?

कसले
मानिसको हातमा
फूलको सट्टा
ढुंगा थमायो?
र कसले
त्यो ढुंगालाई
धर्मको नाम दियो?

मलाई सम्झना आउँछ
एउटा सानो गाउँ,
जहाँ बिहान
मन्दिरको घण्टीसँगै
कुनै घरको चुल्हो बल्थ्यो।
अलि पर
अजानको स्वर उठ्थ्यो,
र खेतको डिलमा
हिँडिरहेको किसानले
टाउको निहुराउँथ्यो।

उसलाई थाहा थिएन
कसको ईश्वर ठूलो हो।
उसलाई यति मात्र थाहा थियो—
भोक सबैको एउटै हुन्छ,
पसिना सबैको नुनिलो हुन्छ,
र दुःख पर्दा
मानिसले मानिसकै काँध खोज्छ।

त्यही गाउँमा
धर्महरू छुट्टाछुट्टै थिए,
तर दुःख
साझा थियो।

आज हामीले धर्मलाई
आस्थाबाट निकालेर
अहंकारको हतियार बनाउँदैछौँ।

विश्वासलाई
प्रेमबाट अलग्याएर
पहिचानको युद्धमा धकेल्दैछौँ।

कसैको पूजास्थलमा
फुटेको झ्याल
केवल एउटा झ्याल होइन।

त्यहाँबाट
हाम्रो सभ्यताको एउटा भाग
बाहिर खसेको हुन्छ।

कसैको धार्मिक प्रतीक
अपमानित हुँदा
त्यहाँ केवल एउटा समुदाय
घाइते हुँदैन

मानवताको निधारमा
एउटा नयाँ घाउ थपिन्छ।
धर्म कुनै तरबार होइन
जसले अर्को आस्थालाई
काटेर आफ्नो उचाइ नापोस्।

धर्म त
सायद त्यो दीप हो
जसले आफू बल्दै
अर्काको अँध्यारोलाई पनि
अलिकति कम गर्छ।

यदि मेरो दीपले
तिम्रो घर जलाउँछ भने
त्यो उज्यालो होइन।

यदि मेरो प्रार्थनाले
तिम्रो अस्तित्वलाई
अस्वीकार गर्छ भने
त्यो प्रार्थना होइन।

यदि मेरो आस्थालाई
बचाउन
तिम्रो आस्था मर्नुपर्छ भने
त्यो धर्म होइन,
त्यो मानिसभित्र
बढेको अँध्यारो हो।

हामीले
शायद धेरै ढिला गरी
बुझ्न थालेका छौँ
मन्दिरको घण्टी
कसैको निजी आकाश होइन।

अजानको स्वर
कसैको निजी हावा होइन।
गुम्बाको शान्ति
कसैको एक्लो पहाड होइन।
चर्चको प्रार्थना
कसैको बन्द ढोका होइन।

यी सबै मानिसले
आकाशतिर पठाएका
फरक–फरक आवाज हुन्।

आकाशले आजसम्म
कुनै आवाजलाई
पराई भनेको छैन।

तर हामीले भनेका छौँ।
हामीले एकअर्कालाई
नामले बोलायौँ,
पहिचानले छुट्यायौँ,
धर्मले नाप्यौँ
र अन्ततः
मानिसलाई नै बिर्सियौँ।

त्यहीँबाट
घृणाले जन्म लिन्छ।
पहिले शब्दमा।
पछि नारामा।
त्यसपछि
ढुंगामा।
र अन्ततः
आगोमा।

आगोले
कहिल्यै धर्म सोध्दैन।
उसले
मन्दिर पनि जलाउँछ,
मस्जिद पनि,
घर पनि,
र अन्ततः
मानिसको विवेक पनि।

त्यसैले आज
म कुनै धर्मको पक्षमा
उभिन चाहन्नँ।

म मानिसको पक्षमा उभिन चाहन्छु।
म त्यो आमाको पक्षमा उभिन चाहन्छु
जसले आफ्नो छोरालाई
घृणा सिकाउन होइन,
मान्छे बन्न सिकाएकी छ।

म त्यो बालकको पक्षमा उभिन चाहन्छु
जसलाई अझै थाहा छैन
मानिसलाई धर्मले होइन,
मायाले चिनिन्छ।

म त्यो वृद्धको पक्षमा उभिन चाहन्छु
जसले जीवनभर
फरक विश्वासका मानिससँग
एकै चौतारोमा बसेर
चिया पिएको छ।
र म
त्यो समाजको पक्षमा उभिन चाहन्छु
जहाँ
प्रार्थनाका बाटाहरू फरक भए पनि
मानवताको गन्तव्य एउटै हो।

आऊ,हामी
आफ्ना–आफ्ना देवताहरूलाई
आफ्ना–आफ्ना हृदयमा राखौँ।

तर
एकअर्काको हृदयमा
ढुंगा नराखौँ।

आऊ,
घण्टीलाई घण्टीकै रूपमा बज्न दिऔँ,
अजानलाई अजानकै रूपमा उठ्न दिऔँ,
प्रार्थनालाई प्रार्थनाकै रूपमा बग्न दिऔँ।

आकाशलाई
कुनै धर्मको सीमामा
बन्द नगरौँ।

हावालाई
सम्प्रदायको पासपोर्ट
नखोजौँ।
र मानिसलाई
मानिस भएर बाँच्न दिऔँ।

किनकि एकदिन
हामी सबैले
आफ्ना–आफ्ना नाम,
पहिचान,
धर्म र पदहरू
यही पृथ्वीमा छाडेर जानेछौँ।

हामीसँग जानेछ भने
सायद एउटै कुरा
हामीले
मानिसलाई कति माया ग¥यौँ।

त्यस दिन
कुनै घण्टीले सोध्ने छैन
तिमी कुन धर्मका थियौ?
कुनै अजानले सोध्ने छैन—
तिमी कुन सम्प्रदायका थियौ?

आकाशले पनि
कुनै प्रमाणपत्र माग्ने छैन।
सायद
माटोले मात्र सोध्नेछ
“तिमीले
मानिस भएर
मानिसलाई कति जोगायौ?”

त्यस प्रश्नको उत्तर
हाम्रो हातमा छ।
आजैदेखि
ढुंगा भुइँमा राखौँ।
घृणाको आगो निभाऔँ।

आफ्ना–आफ्ना प्रार्थनाबाट
एउटै आवाज निकालौँ

मानिस बचोस्।
मानवता बचोस्।
आस्था बाँचोस्।
तर घृणा मरोस्।

प्रतिक्रिया दिनुहोस्