Logo
Logo

मधेशमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो ? कांग्रेसले माग्यो सरकारको जवाफ


441
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीसहित मधेसी जिल्लामा भएको धार्मिक तनावको घटनामा नागरिकको ज्यान जानेगरी प्रहरीले गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै नेता आङ्देम्बेले सरकारसँग उक्त प्रश्नको चित्तबुझ्दो जवाफ माग गरेका हुन् । उनले उक्त घटनाको जिम्मेवारी लिनुपर्ने समेत माग गरे । उनले घटनामा घाइते भएकाहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै क्षतिको यकिन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

साथै, घटनाको सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्नुपर्ने उनको माग छ । उनले विपद् पूर्वतयारी तथा प्रतिकार्यमा सरकार सुस्त गतिमा काम गरिरहेको भन्दै आलोचना समेत गरे ।

उनले भने, ‘सुनसरी, सिरहा, पर्सा र धनुषा लगायतका जिल्लाहरुमा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जानेगरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? भन्नेबारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसबारे सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्छ । र घटनाको जिम्मा लिनुपर्छ । उक्त घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु । साथै घटनामा घाइते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै क्षतिको यकिन गरी क्षतिपूर्तीको व्यवस्था गर्न सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । हाम्रो स्पष्ट माग छ यस घटनाको सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानविनका लागि न्यायिक छानविन समिति गठन गर्नुपर्छ ।’

मधेस प्रदेशको सुनसरी, सिरहासहितका जिल्लामा उत्पन्न साम्प्रदायिक तथा धार्मिक तनाव कम गर्ने क्रममा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्