काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकार कूटनीतिक रूपमा असफल भएको र संवैधानिक निकायका काममा कानुन विपरीत हस्तक्षेप गरेको बताएको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारले सांसदहरूलाई कानुनभन्दा माथि राख्न खोजेको र संवैधानिक निकायहरूलाई दबाबमा पारेको आरोप लगाए ।
प्रवक्ता चालिसेले गृहमन्त्री जोडिएको प्रकरणमा सरकारको छानबिन प्रक्रिया शंकास्पद रहेको बताए । हतार–हतार छानबिन समिति बनाउने तर त्यसको प्रतिवेदन सार्वजनिक नहुँदै पुनः नियुक्ति गरिनुले सरकारको नियतमा खोट देखिएको उनको तर्क थियो । उनले सरकारका सबै नियुक्ति र निर्णयहरू पारदर्शी र राजनीतिक प्रभावभन्दा माथि उठेर हुनुपर्नेमा जोड दिए ।
कांग्रेसले सरकारलाई आफ्ना स्वेच्छाचारी निर्णयहरू सच्याउन र संविधानको सीमाभित्र रहेर कार्यसम्पादन गर्न चेतावनी समेत दिएको छ। उनले सरकारका सबै नियुक्तिमा ‘राजनीतिक छाया’ देखिएको भन्दै योग्यता र पारदर्शीताका आधारमा मात्र अघि बढ्न सुझाव दिए ।














