Logo
Logo

मृत्युले लखेटेका ती दिनहरू


कृष्णमणि पराजुली

252
Shares

मृत्यु शब्द सबैको लागि अप्रिय लाग्न सक्दछ । त्यसैले प्रत्येक मानिस मृत्युलाई लखेट्न चाहन्छ । तर, मृत्यु केही समयको लागि लखेटिए पनि सधैँको लागि भने लखेटिन सकिँदैन । कुनै न कुनै समयमा मृत्यु टुप्लुक्क आई दिन्छ र कसैलाई थाहै नदिई लिएर जान्छ । कता लैजान्छ कसलाई पो के थाहा र !

मलाई याद छ मृत्युले मलाई धेरै पटक लखेटेको लखेट्या ग¥यो तर अझ सम्म लैजान सकेको छैन । लाग्छ –अब त मृत्यु पनि हैरान भइसक्यो । सायद थाकिसक्यो पनि होला । मलाई मृत्युले लखेटेका दिनहरू मध्ये दुइटा दिन भने राम्रोसँग अहिले पनि सम्झनामा रहेको छ । करिब ५३ वर्ष पहिले म नराम्रोसँग बिरामी भएछु । एकै चोटि फेन्ट भएछु । त्यस समयमा अहिलेको जस्तो स्वास्थ्य सुविधा थिएन । जसरी भए पनि अस्पताल पु¥याउनु पर्छ भनेर मलाई नगिजको अस्पतालमा लगिएछ । बिरामीको अवस्था नाजुक भएकोले अस्पतालमा भर्ना गरिएछ । अहिलेको जस्तो आइसियुको व्यवस्था नभएकोले त्यसै उपचार गराइएछ । अस्पतालमा म १९ दिन बेहोस भएर लडेछु र अनि पछि होसमा आएछु । त्यो बेला म एक किसिमको कोमामा पुगेको रहेछु ।

होसमा आए पछि मलाई अनौठो लाग्यो । आँखा यताउति लगाउँदा कहीँ कतै केही भेउ नै पाइन । विछैनाबाट माथि आँखा लगाउँदा केही पनि चिन्न सकिन । दायाँ बायाँ आँखा लगाउँछु केही अत्तोपत्तो भएन । जता हे¥यो उतै एकदम अनौठो । त्यहाँ जति नै वस्तु देखिन्थे सबै नै नौला । अनि लाग्यो यी सबै भ्रम हुन् । केवल सपना मात्र । तर, त्यो सपना थिएन । मेरो बुझाई सपना जस्तो भए पनि ती सबै यथार्थ नै थिए । म मात्र भ्रममा परेको रहेछु ।

म अचेत हुनुभन्दा केही समय अघि मात्र टाउको दुखेको थियो । पछि क्रमिक रूपमा दुखाई बढ्दै गएको थियो । लाग्यो – त्यही टाउको दुखाइको कारणले मेरो मृत्यु भई सक्यो र अहिले मृत्युको घरमा आई पुगेको छु । तर, त्यो मृत्युको घर थिएन र यथार्थमा अस्पताल थियो । मृत्युले मलाई लैजान नसकेर अस्पतालमा लगेर छोडेको रहेछ । पछि थाहा भयो मलाई मेनिन जाइटिस भन्ने रोग लागेकोे रहेछ । किन मृत्युले मलाई लखेट्दै लखेट्दै अस्पताल पु¥याएर बचायो ! म आफैँलाई आश्चर्य लागेर आउँछ । अनि मनमनै भन्छु अरूको लागि मृत्यु कति डरलाग्दो हुन्छ तर मेरो लागि भने त्यही मृत्युले दया गरेर अहिले सम्म बचाइ रहेको छ । त्यसकारण मेरो लागि मृत्यु एक प्रकारको शुभचिन्तक जस्तो लाग्दछ ।

लाग्छ मानिसको जीवनमा मृत्यु पटक पटक आउँछ र आउने वित्तिकै चटक्क टिपेर लग्दैन । उसले हामीलाई धेरै ग्रेस पिरियड दिएको हुन्छ । नदिएको भए यो धर्तीमा आउन नपाउँदै लगिहाल्थ्यो । तर, उसले आफ्नो धर्म निभाएको छ । उसले माया गरेर नै लामो समयसम्म बस्न दिएको छ । मृत्युको विषयमा हामीमा नकारात्मक धारणा भएको हुनाले डराई रहेका हुन्छौँ । तर, त्यस्तो हुँदै होइन । मृत्युले हामीलाई प्रशस्त मौका दिएको छ । त्यसको उपयोग गर्न नसकेको हुनाले नै मृत्यु सधैँ नै हाम्रो दिमागमा भयंकर डरलाग्दो तस्बिर भएर बसेको छ ।

मृत्यु देखि डराउनु स्वाभाविक नै हो किनभने मृत्युले हाम्रो जीवन्त अवस्थाको नास गरिदिन्छ । तर, जे गरे पनि लाने नै भएकोले मानिसहरू डराउने नै हुन्छन् । किन हो किन मलाई भने मृत्यु देखि पटक्कै डर लाग्दैन । बरु, मृत्युले मलाई त माया पो गर्छ जस्तो लाग्दछ । किनभने कैयौँ पटक मलाई सुमसुम्याएर मात्र गएको छ ।

यहाँ प्रसङ्ग छ मृत्यु कै र अर्को दृष्टान्त पनि म प्रस्तुत गर्दछु । विश्वभर फैलिएको कोरोना माहामारीले सबैलाई त्रसित बनायो । धेरैलाई आक्रमण ग¥यो । धेरैको ज्यान लियो । कोरोना भाइरस यति शक्तिशाली रहेछ कि यसले छुनमात्रै पायो भने पनि मानिस बाँच्न मुस्किल नै थियो । मृत्युको मुखमा पु¥याएकै हुन्थ्यो । यस्तो शक्तिशाली र माहामारी फैलाउन सक्ने कोरोनाले पनि मलाई लानी कि नलानी भनेर विचार मात्र ग¥यो लान सकेन । त्यसकारण मलाई लाग्छ अरूले भन्दा त मृत्युले पो माया गर्दो रहेछ ।

यहाँ पनि मलाई मृत्युले लखेट्दै अस्पतालसम्म पु¥यायो । सायद उसले मलाई माया गरेको थियो । कोरोनाले जति लछार पछार र छट्पटी दिए पनि मृत्युले मलाई बचाई दियो मर्नबाट । अस्पतालका सबै सैया बिरामीले भरिएका थिए । मानिसको चहल पहल प्रायः शून्य जस्तै थियो । कोरोनाका बिरामी देखि सबै त्रसित थिए । चिकित्सक समेत परबाट सन्चो विसन्चो सोधेजस्तो गरी आफ्नो जिम्मेवारी निभाउँथे । अस्पतालमा भर्ना भएका धेरै जसो बिरामी घर फर्किएका हुँदैनथे । पीर,पीडा, क्रन्दन, दुखाई, रुवाइले अस्पतालको वातावरण नरमाइलो देखिन्थ्यो । मुर्दाघरबाट लास निकालिएका दृश्यहरूले भोली आफ्नै अवस्था त त्यस्तै हुने होइन भनेर चिन्ता लाग्नु स्वाभाविक नै थियो ।

मृत्युको नगिज पुगेका यी दुइटा मेरा आफ्ना घटनाले अहिले पनि मलाई डर देखाई रहेका हुन्छन् । तर, मैले यो पनि बुझेँ कि मानिसको लखट्याई भन्दा मृत्युको लखेट्याई कम पीडादायी हुँदो रहेछ जस्तो लाग्दछ । किनभने मृत्युको लखट्याईले अस्पतालसम्म पु¥यायो भने मानिसको लखट्याई त जुनी जुनी सम्म रहन सक्दछ । त्यसकारण मृत्यु देखि डराई हाल्नु पर्दैन । उसले सबैलाई समान व्यवहार गरेको हुन्छ । मानिस बुद्धिमान र विवेकशील भए पनि अरुलाई दुःख दिएकै हुन्छ ।

मृत्यु सबैको लागि उस्तै हुन्छ र मृत्यु सत्य पनि हो । यो संसारमा जसले जे भने पनि निष्पक्ष न्याय गर्ने भनेको मृत्यु नै रहेछ । किनकि कुनै न कुनै दिन यसले सबैलाई लगेकै हुन्छ । फरक यत्ति मात्र हो कि कसैलाई लखेट्दा लखेट्दै बिचैमा भैगो भनेर केही समय छोडी दिन्छ त कसैलाई भने तुरुन्त लिएर जान्छ । तर, मलाई भने मृत्युले माया गरेको जस्तो लाग्दछ । किन कि पटक पटक आउँछ , यसो हेर्छ, केही समय लखेट्छ अनि छोडेर जान्छ ।

मैले मृत्युसँग धेरै संगत गरेको छु । त्यसैले होला मुखमा पुगेर पनि फर्किएर आएको छु । मृत्युको मुखैमा पुग्दा कस्तो अनुभूति हुन्छ भन्ने सबैमा जिज्ञासा आउन सक्दछ । तर, यो जिज्ञासा मानसपटलबाट हटाई दिए हुन्छ । म जगिजै पुग्दा पनि दुःख पीडाको केही अनुभव नै भएन । यदि मृत्युले पीडा दिने भए मैले पनि त केही थाहा पाउनु पर्ने होइन र ! अहँ, मलाई केही थाहा भएन । त्यसैले मृत्युले पीडा दिन्छ भनेर डराउनु केवल भ्रम मात्र हो । हामी कोही पनि नडराउन् ।

प्रतिक्रिया दिनुहोस्