
काठमाडौं । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये थप चार जनाको शव फेला परेको छ । यससँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
हिमपहिरोमा हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले थप चार शव फेला पारेको हो । उद्धार टोलीका प्रमुख पासाङ काजी शेर्पाले चार शव भेटिएको जानकारी दिएका छन् ।
हिमपहिरोमा पुरिएका शव निकाल्ने कार्य भइरहेको र शवको पहिचान हुन बाँकी रहेको उनले जनाएका छन् । यसअघि बुधबार आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो । त्यस्तै, आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।
अझै पाँच जना आरोही र सहयोगी सम्पर्कविहीन छन । उनीहरूको खोजी भइरहेको शेर्पाले जानकारी दिएका छन्। असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा १६ जना हराएका थिए ।














