
काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर ६५ वर्षीय किरण सिंहको खोजी गर्न प्रहरीले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर र ड्रोन परिचालन गरेको छ ।
शुक्रबार दिउँसो करिब २ बजे घरबाट निस्किएका सिंहले साढे तीन बजेतिर ‘जंगलमा बाटो बिर्सिएँ’ भनी आफन्तलाई फोन गरेपछि उनको खोजी सुरु भएको हो । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनको मोटरसाइकल र सीसीटीभी फुटेजमा रामराज पुलसम्म पुगेको देखिए पनि हालसम्म उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिंहले माछापोखरी र कुखुरापालनका लागि फार्म निर्माण गरिरहेका थिए । त्यहीँ जाने क्रममा उनी जंगल क्षेत्रमा हराएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि सम्भावित सबै पाटा केलाएर अनुसन्धान गरिरहेको कपिलवस्तुका प्रहरी प्रमुख (एसपी) मनोहर भट्टले जानकारी दिए ।














