काठमाडौं । जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले घरेलु टोली जापानलाई १५० रनको बलियो लक्ष्य दिएको छ ।

आइचीमा रहेको कोरोगी स्पोट्र्स पार्कमा नेपालले टस हारेर पहिला ब्याटिङ गरेको हो । वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा नेपालले ४ विकेट गुमाएर १४९ रन बनायो । सन्दीप जोराले ३२ बलमा ५७ तथा लोकेश बमले २२ बलमा ५२ रन बनाए । आसिफ शेखले २१ रन जोडे ।
जापानका लागि रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले एकरएक विकेट लिए । यसअघि वर्षाकै कारण खेल शुरु हुन ढिला भएकोमा अहिले फेरि वर्षा भएको छ । खेल रोकिएको छ ।
नेपालले यसअघि हिजो आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । आजको खेल जितेमा नेपाल समूहको विजेता बन्दै क्वाटरफाइनलमा पुग्ने र श्रीलंकासँग खेल्नेछ ।
त्यस्तै समूहको उपविजेताले भारतसँग खेल्नेछ । समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान रहेका छन् । समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान छन् ।
आजै मलेसिया र ओमानबीच पनि खेल हुँदैछ । समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो । नेपाल अहिलेसम्म क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।














