काठमाडौँ । आफ्नो अभिव्यक्तिको आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले फेसबुकमार्फत् स्पष्टीकरण दिएका छन्। आइतबार फेसबुकमा उनले सिंहदरबारको स्वभाव-भावभंगी नाम जस्तै देखिने हुनुहुन्न भन्ने सर्न्दभमा आफूले बोलेको बताएका हुन्।

‘त्यो दरबारको स्वभाव-भाव भंगी नाम जस्तै देखिने हुनुहुन्न भन्ने सन्दर्भ थियो, सत्यको लिगेसीको सन्दर्भ थियो,’ ढकालले लेखेका छन्, ‘यसपटकको परिवर्तन होइन, पहिलेपहिलेकै परिवर्तनमा कति धेरै ठाउँका नाम परिवर्तन भए। त्यसको पनि परिवर्तन गरेर अरू नै नाम राखिदिएको भए हुने थियो भनेको थिएँ।’
साथै उनले पूरा भिडियो हेरेर धारणा बनाएकाले आफू आफ्नो तर्कमा अडिग रहेको पनि बताएका छन्। ‘म मेरो तर्कमा अडिग छु- सिंह दया र करुणाको प्रतीक होइन। सिंह हिंस्रककै प्रतीक हो, घमण्डकै प्रतीक हो, शासक कै प्रतीक हो,’ उनले लेखेका छन्।
ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम यथावत रहेकोमा प्रश्न उठाएका थिए। उनले भनेका थिए, ‘परिवर्तनपछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ कहाँ कहाँ नाम परिवर्तन भए। त्यो सिंहदरबार भन्ने चाहिँ न हामीसँग सिंह छ, हैन? हामीसँग सिंह छैन। त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन। त्यसलाई अनामनगर दरबार राख्दिएको भए हुन्थ्यो होला, त्यो परिवर्तनपछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा। हामीसँग सिंह नै छैन, त्यसको नाम सिंहदरबार नै छ र त्यसको केही हाउभाउ, भावभङ्गीहरू त्यो भाषा जस्तै छ। त्यो चिर्नुपर्नेछ।’














