
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले सङ्घीय संसद्को गरिमा कायम राख्नका लागि पोसाक संहिता (ड्रेस कोड) लागू गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरू समेत टिसर्ट लगाएर संसद् बैठकमा सहभागी भइरहेको भन्दै आपत्ति जनाए ।
संसद्को गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक अनिवार्य गर्न र प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद्मा टिसर्ट लगाएर प्रवेश गर्न रोक लगाउन सांसद पोखरेलले सभामुखसँग रुलिङको माग गरे । उनले भने, संसद्को गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक अनिवार्य गर्न रुलिङ गरियोस् । प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस् ।’
संसदीय अनुशासनको महत्त्व दर्साउन सांसद पोखरेलले न्युजिल्यान्ड र क्यानडाको संसदमा भएका घटनाहरूको उदाहरण समेत प्रस्तुत गरे । ‘सन् २०२१ को फेब्रुअरी ९ मा न्युजिल्यान्डको संसदमा रबिरि बैद्धिति नामका सांसदले टाइ लगाउन अस्वीकार गर्दा उनलाई संसदीय रुलिङमार्फत सभाबाट निष्कासन गरिएको थियो,’ उनले स्मरण गराउँदै भने– ‘त्यस्तै सन् २०२३ मा क्यानडाको संसदमा पनि पोसाक संहिता लागू गर्न संसदीय रुलिङ भएको थियो।’
सांसद पोखरेलले संसद्को लोगोको प्रयोग पनि जथाभाबी भइरहेको भन्दै त्यसलाई मर्यादित बनाउन माग गरे । संसद्को लोगो कोट, हाफकोट र ओभरकोटबाहेक टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज र सल आदिमा लगाउन रोक लगाउनुपर्ने उनको भनाइ थियो ।
संसदीय मर्यादा र अनुशासनलाई प्राथमिकतामा राख्दै उनले भने, ‘संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न म सभामुख महोदयसँग विशेष रुलिङको माग गर्दछु।’














