Logo
Logo

नाइमामा के छ नयाँ ? किन बन्दै छ दोस्रो संस्करण अझ विशेष ?


630
Shares

भृकुटीमण्डपमा गाडीको मेला लाग्दैछ, तर बहस गाडीको मात्रै होइन । बहस हो– नेपाली सडकको भविष्य कता जाँदैछ ? पेट्रोल–डिजेलबाट विद्युतीय सवारीतर्फको यात्रा, नयाँ ब्रान्डको आक्रामक प्रवेश, स्मार्ट प्रविधिको बढ्दो प्रयोग र ग्राहकको बदलिँदो रोजाइ, यी सबैको चित्र एउटै छानामुनि देखिँदैछ । ५२ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुने दाबीले एक्स्पोको आकार मात्र होइन, नेपाली अटो बजारमा बढिरहेको प्रतिस्पर्धाको तस्वीर पनि देखाउँछ । तर प्रश्न गाडी कति आए भन्ने मात्र होइन– अब नेपाली सडकमा कस्तो गाडी गुड्दैछ, ग्राहकको रोजाइ कसरी बदलिँदैछ र ईभीको बढ्दो बजारका लागि हाम्रो पूर्वाधार कति तयार छ ? हामी आज यही विषयमा चर्चा गर्नेछौँ ।

अरुबेला चिया अखडा हुने भृकुटीमण्डप अब केही दिनका लागि गाडी, मोटरसाइकल, स्कुटर र नयाँ–नयाँ प्रविधिको भीडले भरिने भएको छ । साउन २६ गतेदेखि ३१ गतेसम्म आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ ले यसपटक नेपाली अटोमोबाइल बजारमा ठूलै हलचल ल्याउने तयारी छ ।

५२ वटा स्टल, ५५ भन्दा बढी सवारीसाधन ब्रान्ड र ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक गर्ने आयोजकको दाबी छ । पहिलो संस्करणमा ४७ वटा स्टल थिए । यसपटक संख्या बढेर ५२ पुगेको छ । अर्थात्, यो केवल एउटा सामान्य अटो शो होइन, बजार कतातिर जाँदै छ भन्ने देखाउने ठूलो झ्याल बन्न खोजेको छ । तर प्रश्न यहाँ यति मात्रै होइन– कुन गाडी आयो, कुन ब्रान्ड आयो र कुन मोडल सार्वजनिक भयो भन्ने मात्र होइन। असली प्रश्न हो, नेपाली सडकको भविष्य कतातिर जाँदै छ ?

जवाफ खोज्ने हो भने नाइमा एक्स्पोको तयारी हेरे पुग्छ । पेट्रोल र डिजेलको इन्जिनबाट विस्तारै ब्याट्री, सफ्टवेयर, स्मार्ट कनेक्टिभिटी र विद्युतीय प्रविधितर्फ बजार सर्दै गएको संकेत एक्स्पोले स्पष्ट रूपमा दिइरहेको छ ।

भृकुटीमण्डपमा गाडी मात्रै होइन, प्रतिस्पर्धा पनि देखिनेछ । यसपटक २६ वटा स्टल चारपांग्रे सवारीका लागि र २३ वटा स्टल दुईपांग्रे तथा व्यावसायिक सवारीका लागि छुट्याइएको छ । चारपांग्रेमा बीवाईडी, सिट्रोन, हुण्डाई, किया, महिन्द्रा, एमजी, निसान, टोयोटा, टाटा, जिकर, लिपमोटर, ग्रेटवाल मोटर्सलगायत दर्जनौं ब्रान्ड सहभागी हुँदैछन् । दुईपांग्रेतर्फ बजाज, होन्डा, केटीएम, रोयल इन्फिल्ड, सुजुकी, टीभीएस, ट्रायम्फ, एनआईयू, याडिया, अल्ट्रा भायोलेटलगायतका ब्रान्ड रहनेछन् ।

यसको अर्थ नेपाली बजार अब सीमित ब्रान्डको खेल रहेन । ग्राहकसँग रोजाइ बढेको छ । एउटा ब्रान्डले मात्र बजार कब्जा गर्ने समय विस्तारै सकिँदै गएको छ । एउटै छानामुनि यति धेरै ब्रान्ड र मोडल आउनु आफैंमा नेपाली अटो बजारमा बढिरहेको प्रतिस्पर्धाको संकेत हो ।
अझ महत्वपूर्ण कुरा त, ग्राहकको रुचि पनि बदलिएको छ । पहिले गाडी किन्दा ‘माइलेज कति दिन्छ?’ भन्ने प्रश्न सबैभन्दा अगाडि आउँथ्यो । अहिले प्रश्न बदलिँदै छ– ‘चार्ज कति छिटो हुन्छ?’, ‘रेन्ज कति हो?’, ‘सफ्टवेयर कस्तो छ?’, ‘एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम छ कि छैन?’, ‘कनेक्टिभिटी कस्तो छ?’ जस्ता प्रश्न पनि हुन थालेका छन् । यही परिवर्तनलाई यसपटकको एक्स्पोले एउटै ठाउँमा देखाउनेछ ।

नाइमाका अनुसार एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुँदैछन् । नयाँ गाडी किन्ने सोचमा रहेका ग्राहकका लागि यो निकै ठूलो अवसर हो । किनभने सामान्य अवस्थामा एउटा नयाँ गाडी हेर्न ग्राहकले छुट्टाछुट्टै शोरुम धाउनुपर्छ । एउटा ब्रान्डको गाडी हेरेपछि अर्को ब्रान्डको शोरुम पुग्नुपर्छ। मूल्य, डिजाइन, सुविधा र प्रविधि तुलना गर्न धेरै समय लाग्छ । तर एक्स्पोमा एउटै छानामुनि दर्जनौं विकल्प छन् । यही कारण एक्स्पो ग्राहकका लागि ‘गाडी हेर्ने ठाउँ’ मात्रै होइन, तुलना गर्ने ठाउँ पनि हो ।

तर यहाँ एउटा चुनौती पनि छ । धेरै विकल्प हुनु आफैंमा राम्रो कुरा हो, तर ग्राहक झन् अलमलिन पनि सक्छ । आकर्षक डिजाइन, ठूलो स्क्रिन, नयाँ प्रविधि र चम्किलो प्रचारले मात्रै गाडी राम्रो हुँदैन । वास्तविक मूल्य, ब्याट्रीको आयु, स्पेयर पाट्र्सको उपलब्धता, सर्भिस नेटवर्क, पुनर्बिक्री मूल्य र कम्पनीको दीर्घकालीन उपस्थितिसमेत हेर्नुपर्ने हुन्छ । त्यसैले एक्स्पोमा जाने ग्राहकले ‘देखेर मन पर्यो’ भन्दा ‘तुलना गरेर ठीक लाग्यो’ भन्ने निर्णय गर्नुपर्ने हुन्छ ।

यसपटकको एक्स्पोको सबैभन्दा ठूलो आकर्षण विद्युतीय सवारी हो । नेपालको चारपांग्रे बजार पेट्रोल र डिजेलबाट क्रमशः विद्युतीय सवारीतर्फ मोडिँदै गएको छ । नयाँ सार्वजनिक हुने अधिकांश मोडल विद्युतीय वा विद्युतीकरणमा आधारित हुनु त्यसैको संकेत हो । सानो सहरमा चल्ने ईभीदेखि प्रिमियम एसयूभीसम्म, हाइब्रिड गाडीदेखि व्यावसायिक बससम्मका नयाँ विकल्प बजारमा आउँदैछन् । यसले एउटा कुरा स्पष्ट गर्छ– ईभी अब ‘भविष्यको गाडी’ मात्र रहेन । यो अहिलेको बजारकै हिस्सा बनिसकेको छ ।

अझ प्रविधिको कुरा गर्दा तीव्र चार्जिङ, स्मार्ट कनेक्टिभिटी, डिजिटल डिस्प्ले, चालक सहायता प्रणाली र सुरक्षा प्रविधि नयाँ गाडीका सामान्य विशेषता बन्न थालेका छन् । अर्थात् गाडी अब केवल चारवटा पांग्रा, इन्जिन र स्टेयरिङको संयोजन रहेन । गाडीभित्र प्रविधि बढ्दै गएको छ । भविष्यमा गाडी कति शक्तिशाली छ भन्ने प्रश्नसँगै गाडी कति ‘स्मार्ट’ छ भन्ने प्रश्न पनि महत्वपूर्ण हुँदै जानेछ ।

यसपटकको एक्स्पोमा हङसीको प्रवेशलाई पनि विशेष आकर्षणका रूपमा हेरिएको छ । लक्जरी कार ब्रान्डका रूपमा परिचित हङसी पहिलोपटक नेपाली बजारमा औपचारिक रूपमा आउँदैछ । त्यस्तै, लक्ष्मी समूहले ल्याउन लागेको आर्कफक्सले पनि प्रिमियम ईभी बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ ।

यससँगै वुलिङका नयाँ मोडल, एमजीका नयाँ गाडी, निसान, चेरी, ओमोडा, आईकार, बीएआईसी, किया, टोयोटा, म्याक्सस, ग्रेटवाल मोटर्स, काइयी, लिपमोटरलगायतका ब्रान्डका नयाँ मोडल पनि प्रदर्शनमा आउनेछन् ।

व्यावसायिक सवारीतर्फ डोङफेङको २८ सिटे सिटी बस पहिलोपटक नेपाली बजारमा आउने तयारीमा छ । यसरी हेर्दा एक्स्पोमा प्रतिस्पर्धा एउटा देशका ब्रान्डबीच मात्रै छैन । चिनियाँ, जापानी, कोरियाली, युरोपेली तथा अन्य अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपाली ग्राहकका लागि एउटै बजारमा भिड्दैछन् । यो प्रतिस्पर्धाको सबैभन्दा ठूलो फाइदा भने ग्राहकलाई हुन्छ ।

ईभीको चर्चा चारपांग्रेमा बढी भए पनि दुईपांग्रे बजार पनि तीव्र गतिमा बदलिँदै छ । एनआईयू र याडेयाका स्मार्ट इलेक्ट्रिक स्कुटरदेखि अल्ट्राभायोलेटका नयाँ मोडलसम्म एक्स्पोमा देख्न पाइनेछ । बजाज, टीभीएस, होन्डा, सुजुकी, केटीएम, रोयल इन्फिल्डजस्ता स्थापित ब्रान्डसँगै नयाँ ब्रान्डहरूको प्रवेशले दुईपांग्रे बजारमा पनि प्रतिस्पर्धा बढाइरहेको छ । यसको अर्थ अब मोटरसाइकल र स्कुटरमा पनि केवल ‘माइलेज’ हेरेर निर्णय गर्ने अवस्था छैन । डिजाइन, ब्याट्री, कनेक्टिभिटी, सुरक्षा, प्रदर्शन र स्मार्ट फिचर ग्राहकको रोजाइमा आउन थालेका छन् ।

नाइमा एक्स्पोको एउटा सकारात्मक पक्ष भनेको यसलाई केवल गाडी प्रदर्शनमा सीमित नगर्न खोज्नु हो । छ दिनसम्म अटोमोबाइल क्षेत्रका नीति, प्रविधि, बजार र भविष्यबारे छलफल गरिने आयोजकले जनाएको छ । पक्ष निकै महत्वपूर्ण छ । किनभने नेपालमा ईभी बढिरहेको छ, तर ईभी बढ्दै जाँदा चार्जिङ पूर्वाधार कति तयार छ ? विद्युत् प्रणालीले माग धान्न सक्छ कि सक्दैन ? पुराना ब्याट्रीको व्यवस्थापन कसरी हुन्छ ? आयातमा आधारित अटो बजारलाई दीर्घकालमा कसरी व्यवस्थित गर्ने ? सार्वजनिक यातायातमा विद्युतीकरण कसरी गर्ने ? यी प्रश्नको उत्तर गाडीको शोरुममा पाइँदैन । यसका लागि नीति र बहस चाहिन्छ । त्यसैले एक्स्पोलाई ‘गाडी हेर्ने मेला’बाट ‘मोबिलिटीबारे सोच्ने मञ्च’ बनाउने प्रयास महत्वपूर्ण देखिन्छ ।

नाइमा एक्स्पोको समय पनि अर्थपूर्ण छ । चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा नयाँ गाडीको माग बढ्ने गर्छ । यही समयमा नयाँ मोडल र ब्रान्ड एकैपटक ग्राहकसामु ल्याउनु व्यवसायीका लागि ठूलो अवसर हो । अटो बजार सुस्ताएको अवस्थामा एक्स्पोले बजारलाई फेरि चलायमान बनाउन सक्छ । ग्राहकलाई नयाँ विकल्प देखिन्छ, कम्पनीले नयाँ उत्पादन बेच्ने मौका पाउँछन् र बैंक तथा वित्तीय संस्थादेखि बीमा र अटो पाट्र्ससम्मका क्षेत्रमा समेत यसको प्रभाव पर्न सक्छ । त्यसैले एक्स्पोको प्रभाव भृकुटीमण्डपको चार पर्खालभित्र मात्र सीमित हुने छैन । यसले समग्र अटोमोबाइल बजारको कारोबार र मनोविज्ञानमा असर पार्न सक्छ ।

तर यसपटकको अटो बजारमा एउटा अर्को रोचक पक्ष पनि छ । नाइमा एक्स्पो सकिएको केही समयमै नाडा अटो सो २०२६ आयोजना हुँदैछ । अर्थात् छोटो समयको अन्तरमा दुई ठूला अटो प्रदर्शनी हुँदैछन् । यसले स्वाभाविक रूपमा प्रश्न उठाउँछ– नेपालको अटो बजारले लगातार दुईवटा ठूला एक्स्पो धान्न सक्छ ? व्यवसायीका लागि यो अवसर पनि हो र चुनौती पनि । ग्राहकका लागि भने यो झन् राम्रो प्रतिस्पर्धा बन्न सक्छ । दुईवटा प्रदर्शनीबीच प्रतिस्पर्धा बढेमा कम्पनीहरूले मूल्य, अफर, सुविधा र नयाँ उत्पादनमा थप आकर्षक प्रस्ताव ल्याउनुपर्ने दबाब पर्न सक्छ ।अन्ततः यसको फाइदा ग्राहकले पाउने छ ।

प्रतिक्रिया दिनुहोस्