काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्दै आएको दुईवटै वाइडबडीका चारवटै इन्जिन ओभरहल (मर्मत) समय नजिकिँदै गर्दा मर्मतका लागि चाहिने आवश्यक व्यवस्था गर्न ढिलाइ भएको छ । इन्जिन मर्मत तथा इन्जिन भाडामा लिनेगरी कम्पनी छनोटका लागि पाँच महिनादेखि सुरु भएको प्रक्रियालाई अझैसम्म टुंगोमा पु¥याइएको छैन ।

आर्थिक संकट भोगिरहेको अवस्थामा जहाज ग्राउन्डेड भएमा निगमलाई थप संकट पर्नेछ । अहिले नै निगमसँग चारवटा इन्जिन मर्मत र भाडामा लिनका लागि नगद अभाव छ । निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग इन्जिन मर्मत तथा भाडाका लागि आवश्यक रकम व्यवस्थापनका लागि हारगुहार गरिरहेको भएपनि अहिलेसम्म मन्त्रालयले सहयोग गरेको छैन । निगमलाई मन्त्रालयले असहयोग गरेपछि विमान ग्राउण्डेड हुने अवस्था सिर्जना भएको हो ।
इन्जिन मर्मत तथा भाडामा लिन कम्पनी छनोट नहुँदा वाइडबडी जहाज ग्राउन्डेड हुने निश्चित भएको भने अन्र्तराष्ट्रिय उडान ठप्प हुँदा अरबौ रुपैया घाटा हुने पनि निश्चित जस्तै भएको छ । अघिल्लो सरकार, नेता, राजनीतिक दललाई गालीगरेर सरकारमा आएको बालेन नेतृत्वको सरकारले पनि पुरानै प्रवृत्ति देखाएको छ ।
जसले गर्दा एउटा वाइडबडी एक दिन मात्रै ग्राउन्डेड हुँदा न्यूनतम १ करोड ५० लाख आम्दानी गुमाउने अवस्थामा पनि चुपचाप रहेको छ । कम्पनी छनोटमा देखिएको समस्याका कारण दुईवटै जहाज ग्राउन्डेड हुन अवस्थामा पुगेका छन् ।
निगमले अन्तर्राष्ट्रिय उडानका प्रयोग गरिरहेको वाइडबडी कलसाइन नाइन एन एलवाईले अब १८० साइकल उडानमात्रै गर्न सक्छ । एउटा टेक अफ र एउटा ल्याण्ड बराबर एक साइकल गणना हुन्छ । सामान्यतः एउटा वाइडबडी जहाजले दैनिक चार साइकल उडान गर्छ । तर उडानको चाप रहेको र एउटामात्रै वाइडबडीले उडान गर्दाको अवस्थामा पाँच साइकलसमेत उडान भर्छ ।
यही हिसाबमा कल साइन नाइन एन एलवाई वाइडबडीले अब अधिकतम ४५ दिनमात्रै उडान भर्न सक्छ । त्यसमा पनि कुनैदिन पाँच साइकल उडान भएको अवस्थामा त्यो पनि उडान गर्न सक्दैन । यस्तो अवस्थामा निगम मात्र होइन नागरिक उड्ययन प्राधिकरण र पर्यटन मन्त्रालय दुवै मौन रहेका छन् ।
स्रोतका अनुसार नाइन एन एलवाई जहाजको उडान साइकलमा अबको एक महिना थप दबाब पर्ने निश्चित छ । किनकि अर्को वाइडबडी नाइन एन एलजेट १० अगष्टमा सी चेकका लागि इटाली पठाइँदै छ । इटाली पठाउन लागिएको नाइन एन एलजेटको भने ४५० साइलक उडान बाँकी रहेको छ । पछिल्लो ६ महिनादेखि निगम व्यवस्थापनले वाइडबडी जहाज उडानमा साइकल सेभको नीति लिइरहेको छ । साइकल सेभको नीतिले निगमको आम्दानीका घाटा लागिरहेको छ ।
निगमले इन्जिन मर्मत तथा भाडामा लिने प्रक्रिया सुरु गरेको पाँच महिना पूरा भइसकेको छ । तर कम्पनी छनोट प्रक्रियामा प्रगति शून्य छ । पछिल्लोपटक निगमले जुन २५ मा ३० दिनको सयमसीमा राखेर दुईवटा वाइडबडीको चारवटा इन्जिन मर्मत तथा भाडामा लिनेगरी प्रस्ताव माग गरेको थियो । उक्त प्रस्तावमा युएईको कम्पनीले आवेदन दिएको भए पनि निर्णय गर्न सकेको छैन ।
जहाज ग्राउन्डेड गरेर राख्दा निगमलाई एउटै जहाजबाट ३ अर्बसम्म घाटा लाग्ने छ । जसका कारण जहाज उडानका लागि जसरी पनि इन्जिन भाडामा लिनुपर्ने छ । अहिले वाइडबडीको इन्जिन भाडामा लिने दैनिक २० हजार डलरभन्दा बढी खर्च लाग्छ । यही हिसाबमा निगमले चारवटा इन्जिन मर्मत तथा चारवटा इन्जिन भाडामा लिन १० अर्ब रूपैयाँभन्दा बढी खर्च लाग्छ ।
अबुधाबीमा मुख्यालय रहेको सनद ग्रुपले इन्जिन मर्मत र भाडाको टेन्डरमा आवेदन पेस गरेको थियो । तर आवेदन पेस गर्ने कम्पनीको प्रस्ताव रद्द गर्नुपर्ने अवस्था आएको बताइन्छ । यो प्रस्ताव रद्द भएपछि निगमले फेरि सुरुबाट प्रक्रिया सुरु गर्नु पर्ने छ । निगमले पहिलोपटक अप्रिल ५ मा चारवटा इन्जिन मर्मत तथा भाडामा लिनेगरी टेन्डर गरेको थियो । उक्त टेन्डरमा कसैले पनि प्रस्ताव पेस गरेका थिएन । इन्जिन मर्मत तथा भाडामा लिने काम गरिरहेको निगमको सम्बन्धित विभागका अनुसार अब निगमको एउटा वाइडबडी जहाज ग्राउन्डेड निश्चित भएको छ ।
इन्जिन मर्मत तथा भाडामा लिने काम जति हतारमा गरिन्छ त्यति नै महँगो हुने निश्चित छ भने विश्व बजार अहिले वाइडबडी जहाजको इन्जिन भाडामा पाउन नै असहजत अवस्था छ । अर्कोतर्फ युक्रेन रुस द्वन्दका कारण समयमा नै इन्जिन मर्मत हुनसक्ने अवस्था छैन । निगम स्रोतका अनुसार एउटा इन्जिन मर्मतका लागि न्यूनतम ४ महिनादेखि ६ महिनासम्म लाग्छ ।
उक्त समयमा जहाज ग्राउन्डेड गरेर राख्दा निगमलाई एउटै जहाजबाट ३ अर्बसम्म घाटा लाग्ने छ । जसका कारण जहाज उडानका लागि जसरी पनि इन्जिन भाडामा लिनुपर्ने छ । अहिले वाइडबडीको इन्जिन भाडामा लिने दैनिक २० हजार डलरभन्दा बढी खर्च लाग्छ । यही हिसाबमा निगमले चारवटा इन्जिन मर्मत तथा चारवटा इन्जिन भाडामा लिन १० अर्ब रूपैयाँभन्दा बढी खर्च लाग्छ ।
निगमले तत्कालको अवस्थामा १० अर्ब रूपैयाँ खर्च गर्न सक्ने अवस्था छैन । जहाज खरिदमा लिएको ३४ अर्ब ऋण बढेर ५० अर्बको हाराहारी पुगिसेको छ । जहाज खरिदमा लिएको ऋणको ब्याज र किस्ता तिर्न नै एक किस्ता वापत १ अर्ब ३० करोड रूपैयाँ हारहारी लाग्छ । यो रकम साउनपछिको हकमा लागु हुने छ । तर अहिले पनि प्रति किस्ता १ अर्ब २६ करोड रूपैयाँ रहेको छ । पछिल्लो २ किस्ताबापत निगमले जहाजको ऋण खरिदमा १ अर्ब ६ करोड रूपैयाँमात्रै तिर्न सकेको छ ।














