Logo
Logo

तस्करी आरोपमा एसपी हेडक्वार्टर तानिए


4.7k
Shares

काठमाडौं । तराई मधेशमा तस्करीका लागि स्वर्णभूमि रहेको बाराका एसपी नरेन्द्र कुँवरलाई हेडक्वाटर तानिएको छ । नेपाल प्रहरीको स्थानीय चौकीसंग सेटिङ मिलाएर उनीहरूको संरक्षणमा चरम तस्करी गराएको आरोपमा उनलाई हेडक्वार्टर तानिएको हो । नेपाल प्रहरीका मधेस प्रदेश तत्कालीन प्रमुख डिआइजी गोविन्द थपलियाले संरक्षण गरेका कुँवरलाई अहिलेका डिआइजी ओम अधिकारीले भने संरक्षण गर्न डराएपछि उनलाई हेडक्वार्टरले तानेर सोधपुछ गरिरहेको छ ।

बाराका विभिन्न नाकाहरूबाट प्रहरीकै संरक्षणमा तस्करी भइरहेको सूचना पाएपछि बारम्बार तस्करी रोक्न निर्देशन दिएको भए पनि अझै तस्करी नियन्त्रण होइन झन् व्यापक रूपमा चलिरहेको सूचना हेडक्वार्टरमा पुगेको थियो ।

प्रहरी महानिरीक्षकले संगठनमा शुद्धीकरण गर्ने र सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्ने निर्देशन बारम्बार दिएको भए पनि मातहतका प्रहरीले कार्यान्वयन गरेको देखिदैन । केन्द्र र प्रदेश प्रहरी प्रमुखले बारम्बार दिएको नीति निर्देशन विपरीत अहिले बाराको पथलवाघाट र खजानीबाट व्यापक तस्करी भैरहेको थियो ।

पथलवाघाटबाट अहिले मुख्य रूपमा तस्करीको लाइन पाउनेमा भारत अगर्वा घर भएका अरबिन्द साह छन् । उनले नेपालको बारा सिम्रौनगढको नरवासमा पसल समेत संचालन गरेका छन् । त्यही पसलको नाममा उनले ठूलो तस्करी धन्दा चलाउँदै आएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार उनले पाँच जना कामदार राखेर मोटरसाइकलमार्फत कपडा, कस्मेटिक, खुसा, चिनीदेखि किरानाका सामानहरूको तस्करी गराउँदै आएका छन् । अरबिन्दले कामदारको रूपमा तस्करीमा प्रयोग गरेकाहरूमा राहुल गुप्ता, सन्तोष साह, अजय यादव, भोला पण्डित र सन्तोष कुशवाह प्रमुख छन् । तस्करी गरेर ल्याएको कस्मेटिक सामान आफ्नो पसल र गोदाममा राख्ने गरेका छन् भने सुखा र कपडा कोल्वी, वरियारपुर र गंजभवानीपुरसम्म पु¥याएर पसल पसलमा बिक्री गर्ने गरेका छन् ।

अरबिन्दको यो तस्करी समूहमा भोला, राजु, सन्दिप र काठमाडौंबाट सञ्चालित राष्ट्रिय मिडियाका एक पत्रकारसमेत रहेका छन् । ती पत्रकारलाई केही समयअघि मिडिया हाउसले कारबाही गरेर राखेको थियो । तर चुनावताका कारबाही फुकुवा भएपछि पुनःसेटिङ गर्न थालेका छन् ।

ती पत्रकार र कारोबारीहरू तस्करीको लाइन पाउने अरबिन्द साहका साझेदारहरू हुन् । उनले आफ्नो मिडिया हाउसलाई भजाएर प्रहरी र सरकारी अड्डालाई थर्काएर लाइन मिलाउने गरेका छन् । उनले मिडिया हाउस पत्रकाररितालाई तस्करीको साधान बनाएकोमा स्थानीय सञ्चारकर्मीहरुले मिडिया हाउसको आलोचना गरेका छन् ।

उनले यसरी निरन्तर रूपमा तस्करी गराउंदै आएको एक बर्ष भन्दा बढी भइसकेको छ । कारोवारी अरबिन्दले पथलवाघाट स्थित प्रहरी चौकीका असई र जिल्ला प्रहरी कार्यालय बाराबाट परिचालित घुमुवालाई सेटिङ मिलाएर ठूलो मात्रामा तस्करी गराई रहेको सूचान प्रहरी प्रधानकार्यालयमा पुगेको थियो । प्रविण साह कपडा, हार्डवेयर, भोला साह कपडा, प्रदीप साह किराना, हार्डवेयर, उपेन्द्र यादव किराना, हार्डवेयर, नितेष यादव सूर्ति, हार्डवेयर, रमाकान्त यादव कपडा, मुकेश मुखिया हार्डवेयर, कपडा, गोरे नवल भैंसी, दिनेश यादव कपडा हार्डवेयर प्रमुख छन् । पथलवाघाटबाट निस्केपछि झन्डै ४ सय मिटरको फरकमा खजानी चौकी रहेको छ ।

भारतको घोडासन, अगर्वाबाट तस्करहरूले पथलवाघाट, मौवाई हुदै तस्करी गरेको सामान सिम्रौनगढ र कोल्वीसम्म पु¥याउने गरेका छन् । यो नाकाबाट सुखा, किराना सामान, कस्मेटिक सामान, कपडा, मल एवं मलको बोरामा चिनी भरेर व्यापक मात्रामा तस्करीको काम चलिरहेको छ । दैनिक लाखौं रूपैयाँ राजश्व छली गरेर यो नाकाबाट व्यापक तस्करी भइरहेको छ । तस्करीको यो नाका र रूटमा नेपाल प्रहरीको पथलवाघाट चौकी रहेको छ । यहाँ जानको लागि टेण्डर हालेर जाने चलन नयाँ होइन । अहिले पनि त्यही प्रवृत्ति दोहोरिँदा एसपी नै हेडक्वार्टर तानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्