
काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक प्रालिले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ ।
ग्राहकलाई बिक्रीपछिको सेवा, स्मार्ट भेइकल कनेक्टिभिटी र स्वामित्व सुरक्षालाई थप सहज बनाउने उद्देश्यले सुरु गरिएको अभियान देशभरका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा एकसाथ लागू भएको कम्पनीले जनाएको छ ।
साइमेक्स केयर (बीवाईडी सर्भिस सेन्टर, गुहेश्वरी) मा सोमबार आयोजित कार्यक्रममा अभियानको औपचारिक सुरुवात गरिएको हो । अभियान नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा सुरु गरिएको हो । नाइमा मोबिलिटी एक्स्पो मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
अभियानअन्तर्गत सेप्टेम्बर २०२४ भन्दा अघि डेलिभरी भएका र यसअघि बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन सुविधा उपलब्ध नभएका योग्य सवारीसाधनमा बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन निःशुल्क उपलब्ध गराइनेछ । त्यस्ता ग्राहकले ६ महिनासम्म निःशुल्क बीवाईडी एप कनेक्टिभिटी डाटा समेत पाउनेछन् ।
कम्पनीले अभियानलाई ‘केयर प्लस’, ‘कनेक्ट प्लस’ र ‘प्रोटेक्ट प्लस’ गरी तीनवटा मुख्य पक्षमा विभाजन गरेको छ ।
‘केयर प्लस’ अन्तर्गत आधिकारिक सर्भिस प्रणालीमार्फत सवारीको विस्तृत निरीक्षण, जेन्युइन बीवाईडी स्पेयर पाट्र्स, प्रोफेसनल डायग्नोस्टिक सेवा तथा प्रमाणित प्राविधिकबाट सर्भिस उपलब्ध गराइनेछ ।
‘कनेक्ट प्लस’ अन्तर्गत सिम एक्टिभेसन, बीवाईडी एप एक्टिभेसन, कनेक्टेड भेइकल फिचर तथा इन्फोटेनमेन्ट कनेक्टिभिटी सुविधा उपलब्ध हुनेछ । यसका लागि बीवाईडी नेपालको आईओटी साझेदार एनसेलले सहयोग गर्नेछ ।
त्यस्तै, ‘प्रोटेक्ट प्लस’ अन्तर्गत बीमा परामर्श, बीमा नवीकरणमा सहयोग, योग्य सवारीसाधनका लागि विस्तारित वारेन्टीसम्बन्धी जानकारी तथा सहजीकरण उपलब्ध गराइनेछ । यसमा १० वर्षसम्मको विस्तारित वारेन्टीसम्बन्धी सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।
दुर्घटना भएको अवस्थामा नगदरहित सेवा तथा बीमा दाबी प्रक्रियामा समन्वय र सहजीकरणसमेत गरिनेछ । यसका लागि बीवाईडी नेपालका बीमा साझेदार शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सले सहयोग गर्नेछन् ।
अभियानअन्तर्गत योग्य ग्राहकले ब्याट्री कभर, स्पेयर टायर तथा डेन्ट एन्ड पेन्ट सेवामा १० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, एकपटक निःशुल्क होम चार्जर चेक–अप सुविधा पनि उपलब्ध गराइनेछ ।
साइमेक्स इंक प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले ग्राहकको वास्तविक स्वामित्व यात्रा सवारीसाधन डेलिभरीपछि सुरु हुने बताए ।
‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियानमार्फत प्रोफेसनल सर्भिस, स्मार्ट कनेक्टिभिटी र व्यापक स्वामित्व सुरक्षालाई एउटै पहलमा समेटेर देशभरका १३ वटै सर्भिस सेन्टरमा उपलब्ध गराइएको उनले बताए ।
अभियानका लागि साइमेक्सले एनसेल, हिमालयन एभरेस्ट इन्स्योरेन्स र शिखर इन्स्योरेन्ससँग सहकार्य गरेको छ ।
कम्पनीका अनुसार बीवाईडीको आधिकारिक सर्भिस नेटवर्क हाल धनगढी, नेपालगञ्ज, दाङ, बुटवल, पोखरा, चितवन, ललितपुर, काठमाडौं, वीरगञ्ज, जनकपुर, इटहरी, विराटनगर र बिर्तामोड गरी १३ स्थानमा रहेको छ ।
ग्राहकलाई थप सहज र पहुँचयोग्य सर्भिस सुविधा उपलब्ध गराउने उद्देश्यले सन् २०२६ भित्र भक्तपुर, डल्लु र लहानमा थप तीनवटा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना कम्पनीले जनाएको छ ।
कम्पनीले बिक्रीपछिको सेवा, कनेक्टेड प्रविधि तथा स्वामित्व अवधिभरको सुरक्षालाई एकीकृत गर्दै विद्युतीय सवारीसाधनको बिक्रीपछिको सेवा प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।














