काठमाडौं । ‘जान्नेलाई छान्ने’ भनेर निर्वाचनताका रास्वपाले खुबै प्रचार गरेको थियो । तर व्यवहारमा सरकारको नियुक्ति हेर्दा सरकारले विधि, ऐन मिचेर गरेको सरकारी नियुक्तिमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पनि परेको छ ।

ऐनमा भएको व्यवस्थालाई लत्याउँदै कार्यकारी निर्देशकमा मनपरी नियुक्ति दिइएको छ । केन्द्रको निर्देशकमा मुटुरोग विशेषज्ञलाई नियुक्ति गर्नुपर्नेमा वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. आशिष गोविन्द अमात्यलाई नियुक्ति गरेर जग हँसाउने काम गरेको छ । लामो समयदेखि केन्द्रमै कार्यरत डा. अमात्य मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवामा रहेका भएपनि उनी मुटुरोग विशेषज्ञ चिकित्सक भने होइनन् ।
हालसम्म डा. भगवान कोइराला, डा.मानबहादुर केसी लगायत सबै मुटरोग विशेषज्ञहरुको नियुक्ति हुँदै आएकोमा अहिले केन्द्रको एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका डा. अमात्यलाई नियम विपरीत देशकै विशिष्ट मुटु उपचार संस्थाको नेतृत्व गर्न दिइएको छ । उनलाई हृदयरोग केन्द्रको ऐन विपरित नियुक्ति गरिएको त्यहाँका कर्मचारीहरुले दृष्टिलाई बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक वर्ष इन्टर्नसिप गरेका उनले त्यही अस्पतालमा मेडिकल अधिकृतका रूपमा करिब एक वर्ष सेवा गरेपछि महाराजगञ्ज चिकित्सा क्याम्पसबाट एनेस्थेसियोलोजी विषयमा एमडी अध्ययन पूरा गरेका थिए ।
एमडी सम्पन्न गरेपछि डा. अमात्य शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रजिष्ट्रारका रूपमा आबद्ध भए । दुई वर्षपछि स्थायी भएका उनी एनेस्थेसिया विभागमा छन् । गंगालालमा चार वर्ष कार्यरत रहँदा उनले थप विशेषज्ञता हासिल गर्न मलेसियामा कार्डियाक एनेस्थेसियासम्बन्धी एक वर्षे फेलोसिप पूरा गरेका थिए ।














