
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई एकदिवसीय टीमको नयाँ कप्तान नियुक्न गरेको छ ।
आउँदो अगष्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट लागू हुने गरी सन्दीपलाई कप्तानको जिम्मेवारी दिइएको हो ।
सन्दीपसँगै क्यानले १४ सदस्यीय टोली पनि घोषणा गरेको छ । जसमा सन्दीप लामिछाने (कप्तान) आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन् ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ। अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन् ।
नेपालले पहिलो खेल साउदी अरेबियासँग सेप्टेम्बर १ मा खेल्नेछ । समूहको दोस्रो खेलमा सेप्टेम्बर ३ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ५ मा मलेसिया र चौथो खेल सेप्टेम्बर ७ मा हङकङसँग खेल्नेछ ।
समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यस प्रतियोगिताको शीर्ष तीन टोली सन् २०२७ मा बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपमा छनोट हुनेछ ।














