Logo
Logo

रास्वपा सरकारका चुनौती


रमेश घिमिरे

0
Shares

दृश्य–१
स्थान– नेपाल प्रहरीको रत्नपार्कस्थित सवारी चालक अनुमतिपत्र शाखा
पात्र– लेखक र आ–आफ्नो कामले आएका उपस्थित जनसमूह

मेरो सवारी चालक अनुमतिपत्र हराएकाले सोको प्रतिलिपि लिन लगातार धाइरहेको हुन्छु र चौथो दिन मेरो धैर्यको सीमा टुट्छ  । आक्रोशका साथ त्यहाँ कार्यरत कारिन्दाहरूलाई भन्छु– ‘तपाईँहरूको यस्तै व्यवहारले गर्दा देशमा माओवादी बढेका हुन्  ।’ त्यहाँ अप्रिय र भनाभनको स्थिति पैदा हुन्छ र उपस्थित जनसमूहले पनि मेरो कुराको समर्थन गर्छन्  । यसैबीच त्यहाँका कारिन्दाले आफ्नो अगाडि रहेको कार्ड उठाउँदै भन्छन्– ए ! हजुरको कार्ड भेटियो  ।

दृश्य–२
पात्र– लेखक स्वयं ।
स्थान– डिल्लीबजारस्थित मालपोत कार्यालय  ।

पिताको देहावसानपश्चात उहाँको नाममा रहेको जग्गा छोराहरूको नाममा नामसारी गर्ने प्रसंग  ।
नामसारी गर्नाका निमित्त हामी ६ महिनादेखि धाइरहेका छौँ, परिणाम हामी घूस नदिने अनि हाम्रो काम पनि नहुने  ।

मैले यहाँ दुई दृश्य प्रस्तुत गर्नाका कारण के हो भने हामी जस्ता आफ्नो अधिकारप्रति जागरुक, दुई अक्षर पढेका, राजधानीमा बसेकाहरूसँग सरकारी कार्यालयमा यस्तो व्यवहार हुन्छ भने सुदूर गाउँमा बस्ने, पढ्न नजान्ने सोझासाझा ग्रामीण जनतासँग सरकारी कर्मचारीले कस्तो व्यवहार गरिरहेका होलान् ? मूलरूपमा देशमा माओवादी बढ्नु जनतामा सरकारप्रतिको नकारात्मक धारणा नै हो  । यहाँ प्रस्तुत गरिएका यी दुई दृश्य जनतामा कसरी सरकारप्रति नकारात्मक सोचाइ आउँछ भन्ने कुराको उदाहरण दिन खोजिएको हो  ।

लामा लामा लच्छेदार कुरा गरेर सरकारले माओवादीको आलोचना गर्नुभन्दा जनताको समस्याप्रति सम्वेदनशील भएर इमानदारीपूर्वक राजस्वको सदुपयोग गरी जनहितको काम गरेको भए विगत दश वर्षमा देशमा यो विकराल स्थिति आउने थिएन  । सरकार अझै चेतेको छैन, जनप्रतिनिधिहरू जनताको रगत पसिनाबाट पैसा कमाउनमै व्यस्त छन्  । मानौँ यस्तो लाग्छ, सरकारमा जनताको समस्याप्रति संवेदनशीलता छैन  । सरकारले सोचेको होला, प्रहरी र शाही सेनाको प्रयोगद्वारा यो समस्या समाधान गर्छु भनेर  । तर सरकारले के कुरामा विशेष ध्यान पुरÞ्याउनुपर्दछ भने जीविकाका लागि लड्ने सेनाभन्दा विचारका लागि लड्ने योद्धाहरूको मनोबल सदैव उच्च हुन्छ  । त्यसकारण गोली बारुदले समस्याको समाधान गर्छु भन्नु मुर्खतासिवाय केही हुँदैन  । सरकारले जनताको समस्याप्रति अझै पनि सम्वेदनशील भएर काम गरेमा मलाई लाग्छ, अझै पनि टाउकोमाथिबाट पानी बगेको छैन  । किनभने माओवादी पनि देशद्रोही होइनन्  । हामीमा जति राष्ट्रप्रेमको भावना छ, पक्कै पनि उनीहरूमा पनि त्यति नै राष्ट्रप्रेमको भावना छ  ।

माओवादी समस्याको समाधानका लागि भनेर सरकारले शक्ति प्रयोगमा अरबौँ रुपियाँ खर्च गरिसकेको छ तर जनसमस्याको समाधानका लागी सरकार लागिपरेको अनुभव जनताले गर्न सकिरहेका छैनन्  । जनताले अनुभव गरुन् पनि कसरी ? किनभने यो काम गर्दा कमिसन पनि हात पर्दैन अनि शासक जस्तो पनि भइँदैन  । अनि किन काम गर्ने जनताको ?

प्रधानमन्त्रीज्यू, जनताको समस्या समाधान गर्न राज्य कोषको सदुपयोग नगर्ने ? आफ्ना भाइभतिजाहरूलाई राज्यकोषको खुला दुरूपयोग गर्न छूट दिने अनि भन्ने माओवादी बढ्यो ? राज्यसंयन्त्रलाई जनहितमा नलगाइ आफ्नो पक्षपोषणमा लगाउने, अनि भन्ने माओवादी बढ्यो ? धेरै भइसक्यो भनाइ र गराइको यो नाटक ! बचाउनोस् नेपाललाई यो विध्वँशबाट  । अनि हामी सबै मिली भनौँला प्रधानमन्त्री जिन्दावाद !

प्रधानमन्त्रीज्यू ! तपाईंभन्दा फरक मत राख्ने प्रदीप गिरीलाई तपाईंका एसम्यान खुमबहादुर खड्काले फलामे रडले रगताम्य पारेको दृश्य यो पंक्तिकारले बनारसको मंगलागौरीमा देखेको छ  । अनि यस पंक्तिकारलाई वनारसमा राजाको जन्मोत्सव मनाउन तपाईँका दाजु (बीपी कोइराला) ले हौसलास्वरूप चन्दा दिनुभएको थियो भने तपाईंले भने तिमीहरूको कार्यक्रममा बम हान्छु भन्ने धम्की दिनुभएको थियो  । यस्तो थियो तपाईंको प्रजातान्त्रिक चरित्र ! खुमबहादुर खडकाले प्रदीप गिरीलाई रगताम्य गरेबापत पटक–पटक राज्यकोषको खुला दुरूपयोग गर्ने छूट दिएर पुरस्कृत गर्नुभयो  । खड्का आज करोडपति होइन, अरबपति हुन लागेका छन्  । अनि नरबहादुर कार्की, शिव कँगाल, पदमबहादुर थापा जस्ता समर्पित कार्यकर्ताहरू सडकमा ठोकर खान बाध्य छन् भने प्रदीप गिरीचाहिँ तपाईँको यसम्यान हुन नसकेकाले अहिलेसम्म मन्त्री हुने सौभाग्य प्राप्त गर्न सकेका छैनन्  । यस्तो छ तपाईंको प्रजातान्त्रिक समाजवाद ! अनि तपाईँ कसरी जनताको समस्याप्रति सम्वेदनशील हुनुहुन्छ भनेर पत्याउने ? यस्तोमा माओवादीरूपि असन्तोष नबढेर के हुने त ?

माओवादीविरुद्धको लडाइँ भनेको भोका जनतालाई खान दिनु हो, हरेक गाउँमा स्वास्थ्य केन्द्र, बाटो, किसानका लागि मल, बिउबिजनको व्यवस्था गर्नु हो  । प्रहरी, सेना परिचालन होइन  । यो हो माओवादीविरुद्धको वास्तविक लडाइँ, शक्ति प्रयोग होइन  ।

डा. बाबुराम भट्टराईलाई मैले सन् १९७८ मा चण्डीगढमा प्रथम अखिल भारत नेपाली विद्यार्थी सम्मेलन हुँदा भेटेको थिएँ  । हाम्रो सम्मेलनको उद्घाटन हालका भारतका सूचना एवं प्रसारण मन्त्री र त्यतिबेला हरियाणा राज्यका मन्त्री सुषमा स्वराजले गर्नुभएको थियो  । त्यतिबेला डा. भट्टराईसँग भएको लामो कुराकानीका क्रममा मैले के अनुभव गरेँ भने भट्टराईमा नेपाल र नेपालीका लागि केही गर्नुपर्छ भन्ने अदम्य भावना थियो  । त्यसका लागि उनि नेताको खोजीमा थिए  । उनले पुष्पलालको पनि नाम लिएका थिए  । त्यसपछि काठमाडौँमा आक्कलझुक्कल भेट भइरहन्थ्यो  । अब त समाचारपत्रहरूका माध्यमबाट मात्र भेट हुन्छ  ।

मैले यहाँ डा. भट्टराईको प्रसंग ल्याउनुको तात्पर्य के हो भने उनमा देश र जनताका लागि काम गर्ने अदम्य उत्साह थियो, त्यसका लागि उनी आदर्श नेताको खोजीमा थिए  । दुर्भाग्यवश उनको त्यो इच्छा पूरा हुन सकेन र उनि आफ्नै नेतृत्वमा आन्दोलनमा होमिए  । आज उनि देशको सबभन्दा बढी चर्चित नेताका रूपमा हाम्रो सामुन्ने छन् र उनको अगाडि पैसारूपी रगतको स्वाद पाएको सरकार लाचार देखिन्छ  । हामीहरू मनमा सोच्दछौँ मात्र तर बाबुराम भट्टराई मनमा लागेको र सोचेको कुरा लिएर जनतामाझ छन । उनको सुरक्षा जनताले गरिरहेका छन्  । साधन सम्पन्न सरकारले केही गर्न सकेको छैन  ।

बाबुराम कुनै चोर डाँका होइनन् कि उनलाई प्रहरी, सेनाले समात्न सकोस्  । जनताका लागि काम गर्ने व्यक्तिलाई जित्नु छ भने सरकारले पनि बाबुरामकोभन्दा बढी जनताका लागि काम गर्नुप¥यो अनि माओवादीलाई जितिन्छ  । तर पैसारूपी रगतका स्वाद पाएका वर्तमान शासक र नेताहरूबाट त्यो आशा गर्नु व्यर्थ छ  । उनीहरूलाई त जनताको रगत पसिनाको होली खेल्नमै मजा आउँछ  । (लेख समाप्त)

२३ वर्षअघिको माथिको लेख आज पनि त्यत्तिकै समसमामयिक भएर यहाँ उल्लेख गरिएको हो  । शासक र शासित (जनता) को मुलभूत चरित्रमा मुलुकमा यत्रो राजनीतिक परिवर्तन भएपश्चात पनि जनताले आफ्नो जीवनस्तरमा उल्लेख्य परिवर्तन भएको अनुभूति गर्न सकेका छैनन्  । आमजनतालाई कुन तन्त्र, कुन वाद, कुन संविधानअनुसारको सरकार छ त्यसमा खासै सरोकार हुँदैन  । उनीहरूको चाहना भनेको त मात्र, आफ्नो जीवनस्तरमा परिवर्तन भएको अनुभूति गर्न पाइयोस्, मुलुकमा भ्रष्टाचार नहोस्, सरकारद्वारा जनतालाई दिइने सेवा सहजरूपमा प्राप्त होस् भन्नै नै हो  । तर दुर्भाग्य ! यस स्थितिमा परिवर्तन भएको छैन  ।

यस्तो विकराल स्थितिमा पहिले गरेका गल्तीबाट पाठ सिक्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरूद्ध अभियान छेडेका छन्  । हाम्रो राजनीतिक नेतृत्व र सरकारी कर्मचारीमा भ्रष्टाचारले यति नराम्रोसँग जरो गाडेको छ कि त्यसविरूद्ध उनी दृढरूपमा लाग्दा प्रधानमन्त्री पद नै धरापमा पर्छ  । यस्तो विषम परिस्थितिलाई चिरेर प्रधानमन्त्री कसरी अघि बढ्छन्, प्रतीक्षाको विषय छ  ।

त्यतिबेला न त गिरिजाप्रसाद कोइरालाले नागरिकको पिडा हटाउने जमर्को गरे न पुष्पकमल दाहालले नै त्यसको परिणाम नेकपा माओवादि विलुप्त नै भइसकेको छ भने सबभन्दा ठुलो र पुरानो दल नेपाली काँग्रेस नागरिकको समस्या समाधानमा विमुख भएको हुनाले हाल आफ्नो अस्तित्व जोगाउँन प्रयासरत छ । मेरो लेख प्रथम पटक प्रकाशित भएको २७ वर्षपछि नागरिकको समस्या बुझेर सो बमोजिम रास्वपाका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकको दैनिक जिवनमा परि आउँने समस्याको संबोधन गरेको अनुभुति यस पंक्तिकारलाई भएको छ । जस्तै काठमाडौं उपत्यकाको एक मालपोत कार्यालयमा काम परेर जाँदा दुई घण्टामै काम संपन्न भएको थियो । जानकारहरूका अनुसार यो काम संपन्न हुन पहिले पुराना दलहरूको सरकार हुँदा यो काम संपन्न हुन हजारौं रुपैयाँ र महिनौं दिन लाग्दथ्यो । यस्तै अनुभुति राहदानि र यातायात कार्यालयमा भएको थियो । तर बडो दुःखका साथ भन्नुपर्छ आफ्नो घर नजिकको सरकार अर्थात काठमाडौंकै एक वडा कार्यालयमा यस्तो अनुभुति हुन सकेन यसमा प्रधानमन्त्रीज्युको ध्यानाकर्षण गराउँदछु ।

रास्वपा सरकारको सयदिने कार्यसुचिमा सरकारद्वारा नागरिकलाई प्रदान गरिने सेवा छिटो छरितो गर्नाका निमित्त सरकारि अभिलेखहरूलाई डिजिटलाइज्ड गरि कागज रहित बनाइनेछ भन्ने छ । तर अधिकाँश सरकारि कार्यालयहरूमा सर्भर डाउन हुने समस्याले गर्दा नागरिकले समयमै सेवा प्राप्त गर्न सकेका छैनन् । यसका लागि मुलुकमै उच्च क्षमताका सर्भर र डेटा सेन्टरको स्थापना आवश्यक छ ।

अहिले प्रधानमन्त्री बालेनको सरकारले नेपालि नागरिकको हितलाई सर्वोपरि राखेर जुन लय र गति समातेको छ त्यो सहिदिशातर्फ उन्मुख छ । यसलाई बरकरार राख्नुपर्दछ । नेपालि समाज र राजनितिको सबभन्दा ठुलो शत्रु भनेको भ्रष्टाचार नै हो यसप्रति निर्मम हुनै पर्दछ । नेपालि नागरिक आफ्नो जिवनस्तरमा हुँने सुधारलाईनै सरकार जाँच्ने कसि मान्दछन । गणेश नेपालि आत्महत्या प्रकरणमा मानविय संवेदनलाई अनदेखा गरेर नियम कानुनलाई प्राथमिकतामा राखियो, यस्तो हुँनु हुँदैन थियो । अहिले सरकार र रास्वपा बिच खिंचातानि, रास्वपाकै सांसदहरू प्रतिनिधिसभामा आफ्नै सरकारविरुद्ध आलोचनामा उत्रिएका छन्, यसलाई रास्वपा अध्यक्ष रबि लामिछाने र प्रधानमन्त्री बालेनले समयमै निराकरण गरेर नेपाली जनतामा निराशा होईन आशाको दियो बाल्नुपर्दछ ।

विदेश नितिको हकमा सरकारले आफ्ना दुवै छिमेकि भारत र चीनको विश्वास आर्जन गर्नुपर्दछ । चीन र भारत दुवै विश्वका ठुला आर्थिक शक्ति भएको हुनाले उनिहरूको सहयोगमा नेपालि नागरिकको जिवन स्तर उकास्ने काम गर्नुपर्दछ । र उनिहरूको सुरक्षामा असर पर्ने क्रियाकलाप हाम्रो भुमिबाट हुन दिनु हुँदैन । हालै काठमाडौंमा नेपालको एक चीन निति विरुद्ध दलाई लामाको जन्म दिवस मनाउँन सरकारले जुन अनुमति दिएको छ । त्यसले नेपाल–चीन सम्बन्धमा प्रतिकुल असर पारेको छ । विश्वका अन्य मित्रराष्ट्रहरूसँग मित्रवत संबन्ध राख्नुपर्दछ । हाम्रो मित्रराष्ट्र रूस सरकारले नेपालमा ठुला परियोजनमा सहयोगमा गर्ने इच्छा व्यक्त गरेको हो भने त्यसलाई अनदेखा गर्न मिल्दैन । किनभने विगतमा नेपालमा रूसको सहयोगमा ठुला ठुला परियोजना बनेकै हुन् ।

मैले यहाँ मेरो २७ वर्षअघि प्रकाशित आलेख स्मरण गर्नुको कारण के हो भने सरकार जतिसुकै बलियो किन नहोस उसले नागरिकको सुखदुखमा साथ सहयोग गरेर मुलुकलाई विकास पथमा अग्रसर गराएन भने उसको पतन निश्चित छ, जसरि पहिले ठुला र पुरानो, हजारौं नागरिकलाई बलि दिएर आएका भनिएका दलहरूको पतन भएको छ ।

तसर्थ नेपालि जनताले रास्वपामाथि अपार विश्वास गरी स्थिर सरकारका लागि लगभग दुईतिहाइ मत दिई विजयि गराएका छन् । जनताको त्यो भरोसा टुट्न नदिई जनताको जीवनस्तर उकास्न लागिपर्नु नै रास्वपा सरकारको अभिष्ट हुनु पर्दछ ।

तलको मेरो आलेख गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बखत २०५७ चैत १८ गते प्रथमपटक ‘विश्वदीप’ साप्ताहिकमा ‘किन बढ्दैछन् माओवादीहरू ?’ शीर्षकमा प्रकाशित भएको थियो । यही आलेख नागरिक दैनिकमा टिप्पणीसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधामन्त्री भएको बेला २६ आश्विन २०८० मा ‘न फेरिएको अवस्था’ शीर्षकमा प्रकाशित भएको थियो । यो आलेख अहिले पुनः समसामयिक भएकाले पाठकसमक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु ।

प्रतिक्रिया दिनुहोस्