काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गरिएको छ।

विशेष अदालतले मंगलबार थुनछेक बहसपछि एक करोड रुपैयाँ धरौटी माग गरेको विशेष अदालतले जनाएको छ। आफूविरुद्ध मुद्दा दायर भएपछि गोल्छा मंगलबार विशेष अदालतमा उपस्थित भएका थिए।
सुरुमा बकपत्र गराइएको थियो। त्यसपछि न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो। यसअघि अरु दुई कसुरमा पनि गोल्छाले एक करोड धरौटी बुझाएर रिहा भएका थिए।
जिल्ला अदालत काठमाडौँले साउन १२ गते बिमा क्षेत्रसँग सम्बन्धित कसुरमा ७५ लाख रुपैयाँ र धितो पत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।
जिल्ला अदालत काठमाडौँकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले माग गरेको धरौटी बुझाएर गोल्छा त्यसै दिन रिहा भएका थिए।















